सर्लाही । जिल्लाको चन्द्रनगर गाउँपालिकामा नेपालकै इतिहासमा पहिलोपटक बालिका सम्मेलन भएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोको अगुवाइमा शनिबार भव्य र सभ्य रुपमा सम्मेलन सम्पन्न भएको हो । नेपालका ७५३ वटा पालिकामध्ये चन्द्रनगर नै यसरी बालिका सम्मेलन आयोजना गर्ने पहिलो पालिका बनेको छ । कार्यक्रम संचालन कुशलतापूर्वक स्थानीय एक किशोरीले गरेकी थिइन् । मुसहर समुदायका विविध महिला-पुरुषहरु, किशोर-किशोरीहरुले राजनीतिक दलहरु र जनप्रतिनिधिहरुबीचको आन्तरिक द्वन्द्व र खिचातानीले गर्दा पूर्वनिर्धारित योजनाअनुसार कार्यक्रम संचालन गर्न नसकेकोमा असन्तुष्टि र दुखेसो प्रकट गर्दै जनताको भावनासँग यसरी खेलवाड नगर्न चेतावनी दिएका थिए ।
गत वर्षको वार्षिक कार्ययोजनामा समावेश गरिएका कार्यक्रमहरु जस्तै छात्रवृत्ति वितरण कार्यक्रम यथाशक्य चाँडो कार्यान्वयन गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा अन्य वक्ताहरु बेलायतबाट राधा पौडेल फाउन्डेशनमा मर्यादित महिनावारीमा ईन्टर्नशीप गर्न आएकी विद्यावारिधीकी विद्यार्थी अबिगेल लेनोक्सले आफ्नो मन्तव्य राखेकी थिइन् । उनले लैंगिक समानताका लागि घर, स्कुल र सबै किसिमका कार्यालयहरुमा मर्यादित महिनावारीको सम्बन्धमा छलफल, बहस र कुराकानी गर्नुपर्ने आजको आवश्यकतामाथि प्रकाश पारेकी थिइन् । त्यस्तै मर्यादित महिनावारी यूके च्याप्टरकी संयोजक तथा संचार अभियन्ता सुधा गुरुङले महिनावारी विभेदले घरैदेखि छोरा र छोरी बीचमा भेद्भावको खाडल खडा गर्दै बाल विवाह, बलात्कार, हिंसा निम्त्याउने भएकोले हरेक बाबु आमाले मर्यादित महिनावारीबारे छलफल र वार्ता चलाउन जरुरी भएको स्पस्ट पारिन् ।
मन्तव्यकै क्रममा मर्यादित महिनावारी अभियानका प्रणेता एवम् लेखक डा राधा पौडेल ( Phd)ले मर्यादित महिनावारी राजनैतिक अधिकार भएकोले स्थानीय सरकारले मर्यादित महिनावारीलाई पालिकाको आवधिक तथा वार्षिक कार्यक्रममा समावेश गरी पालिकालाई मर्यादित महिनावारीमैत्री पालिका बनाउन आग्रह गरिन् ।
कार्यक्रमको अन्तमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बालिका अथवा महिलाहरुको घर घरमा मर्यादित जीवन जिउन सक्ने वातावरण नभएकोले आफ्नो पालिकामा मात्रै नभई मधेश प्रदेशमै महिलाहरु पछाडी परेको तथ्य प्रस्ट पारे । उनले आगामी वार्षिक योजनामा मर्यादित महिनावारी अभियानलाई समावेश गर्दै आफ्नो पालिका उत्कृष्ट पालिका बनाउने प्रतिबद्धता जाहेर गरे ।
४० डिग्रीको प्रचण्ड तापक्रममा पनि चन्द्रनगरका ७ वटा वडाहरुबाट झन्डै ३ हजारको हाराहारीमा अत्यधिक महिला, पुरुष तथा बालबालिकाहरुको सहभागिता रहेको थियो । अत्यन्त विपन्न पिछडिएका मुसहर जातिहरुको बाहुल्यता भएको चन्द्रनगरमा अध्यक्ष महतोले आफ्नो एक वर्षे कार्यकालभित्रै शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा धेरै कुराहरुमा सुधार गराएको कुरा आज उपस्थित जनसमुदायले आफ्नो मन्तव्यमा स्वीकार गरेका थिए ।
सुधा गुरुङबाट