लन्डन । अनुग्रह ज्वेलर्स यूकेले विश्व साइकलयात्रीद्वयलाई स्वागत गरेको छ ।
विश्व भ्रमणमा रहेका नेपालको भक्तपुर जिल्ला मध्यपुरठिमी नगरपालिका गठ्ठाघरका भगत खत्री र अजय मिश्रलाई ज्वेलर्सका डाइरेक्टर सुमन राईले खादा र मायाको चिनो दिएर स्वागत गरेका हुन् । साइकलयात्री स्वागत कार्यक्रममा अनुग्रहका सञ्चालक, कर्मचारी, सपन इन्टरटेन्टमेन्टका डाइरेक्टर सपनकुमार राई, गोर्खा मिडियाका डाइरेक्टर मिलन तमुलगायत सहभागी थिए । विगत ८ वर्षदेखि सेवा प्रवाह गर्दै आएको अनुग्रह ज्वेलर्सले यस बाहेक आइएमइ, फ्लाइट टीकेटिङलगायत सेवा दिने गरेको छ ।
आफ्नो देशको कला, संस्कृति, सम्पदा, सगरमाथा र बुद्धबारे विश्वका विभिन्न देश जानकारी गराउने उद्देश्यले खत्री र मिश्र १८ वर्षदेखि साइकल यात्रा गर्दै विश्वभ्रमणमा छन् । सगरमाथा र बुद्धबारे विश्वमै थाहा भए पनि नेपालबारे चिनारी नभएकोले राष्ट्रलाई योगदान दिउँ भनेर अभियान थालेको अभियन्ता मिश्रले बताए । उनले भने,'नेपालको चिनारीहरु लिएर राष्ट्रिय झन्डासहित विश्वका कुनाकाप्चामा पुगेर सन्देश फैलाउने काम गरिरहेका छौं ।' उनले बालबालिकाका लागि शिक्षा, विश्व शान्ति र आफ्नो नाम होस् र इतिहास रचियोस् भन्ने उद्देश्य पनि साइकल यात्राको रहेको प्रस्ट्याएर ।
मिश्र र खत्रीले बेलायतसमेत गरी १०४ देश घुमिसकेका छन् । अब १६० देश पुग्ने लक्ष्य रहेको अभियन्ता मिश्रले जनाए ।
अनुग्रहका डाइरेक्टर राईले सबै लक्ष्य छिट्टै पूरा होस् भन्दै शुभकामना दिएका थिए । उनले आफूहरु विदेशमा बसे पनि मन नेपालमै रहेको र नेपाललाई धेरै माया गर्ने गरिएको उल्लेख गरे । त्यसक्रममा डाइरेक्टर राईले 'सेभ द प्लानेट' नारासहित सन् २०२५ सम्ममा सगरमाथा आरोहण गर्ने योजना सुनाएका थिए ।