चितवन । राधा पौडेल फाउन्डेशनले सौराहा, चितवनमा गत ४ देखि ७ जूनसम्म ४ दिने मर्यादित महिनावारी विशेष तालिम (TOT) सफलतापूर्वक सम्पन्न गरेको छ ।
पूर्वदेखि पश्चिमसम्मका सातैवटा प्रदेशबाट कुल ४० जनाले सहभागिता जनाएको सो तालिम अत्यन्त उपलब्धिमूलक रहेको कुरा सहभागीहरुले बताए । तालिममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । ग्रीन तारा नेपाल, ईको हिमाल नेपाल, ऐड्स हेल्थ केयर नेपाल, प्लान ईन्टरनेशनल नेपाल, सखी, ग्रामीण महिला विकास केन्द्र, मितेरी जैविक प्याड उत्पादन केन्द्र, आकाशा एकेडेमी, समाज सुधार समिति, मेडिकोस नेपाल, उद्यमशील तथा सीप विकास अपांग संघ, नुवाकोट कोपिला नेपालका प्रतिनिधिहरु, अधिवक्ता शशि बस्नेत, लेखक एवं अधिवक्ता सरिता तिवारी र मेन्ट्रुअल हेल्थमा पीएचडी गर्दै गरेकी बेलायती विद्यार्थी एबिगेल लेनेक्सले सहभागिता जनाएका थिए ।
अधिवक्ता शशी बस्नेतकी ९ वर्षीया छोरी सेनेका कोइराला बस्नेतले पनि स्वेच्छा तालिममा सम्मिलित हुने इच्छा जाहेर गरेकाले लिएर आएकी थिइन् । सेनेकाले स्कुलमा भन्दा यो तालिममा धेरै कुरा सिक्न पाइने भएकोले आफू ६ दिन स्कुल बिदा लिएर यो मर्यादित महिनावारीको तालिममा सहभागी हुन आएको बताइन् । साथै चार दिन नै सक्रिय सहभागिता जनाइन ।
त्यस्तै जुम्लाबाट ४ दिनको यात्रा तय गरी आएका स्वास्थ्यकर्मी नन्दलाल रावतले पनि आफ्नो १२ कक्षामा अध्ययनरत छोरी निर्मला रावतलाई साथै लिएर आएका थिए । दुवै छोरीहरु लगायत सहभागी सबैले सो तालिम अत्यन्त ज्ञानवर्धक र उपलब्धिमूलक रहेको कुरा बताए । तालिममा पुरुषहरुको संख्या ८ थियो ।
सिंजा, जुम्लाका नन्दलाल रावत विगत २२ वर्षदेखि मदन पुरस्कार बिजयी लेखक एवम् मर्यादित महिनावारी अभियन्ता राधा पौडेलको नजिक रहेर काम गर्दै आईरहेका स्वास्थ्यकर्मी भए पनि आफ्नो घरमा श्रीमती र आमालाई महिनावारी महिलाको सामान्य शारीरिक प्रक्रिया हो र महिनावारीको रगत शुद्ध रगत हो, त्यसैले सो भएका छुट्टै बस्नुपर्दैन, यो विभेदको अन्त गरिनुपर्छ भनेर जति भने पनि आफ्नो केही सीप नलागेकोले यो तालिममा छोरीलाई लिएर आएको कुरा बताए ।
कक्षा १२ मा अध्ययनरत निर्मला रावतले यति महत्वपूर्ण यो तालिममा आफूलाई सहभागी हुने अवसर प्रदान गर्ने राधा पौडेलप्रति आफू अत्यन्त अनुगृहित भएको बताइन् । आफू पहिलो पटक महिनावारी हुँदा गाइगोठमा २१ दिनसम्म लुकाइएका कुरा स्मरण गर्दै घरमा बुवाले बार्नु पर्दैन भन्दा पनि आमा र हजुरआमाले कडाईका साथ महिनावारी बार्न लगाउने गरेको तर अब यो तालिममा सहभागी भएपश्चात् महिनावारीको रगत शुद्ध भएकोले अब आफूले यो विभेदको अन्त आफैबाट गर्ने अठोट लिएको बताइन् । साथै आफूले परीक्षण गरेपश्चात् आमा अनि छरछिमेकमा पनि सोही कुरा सेयर गर्ने बताइन् ।
राधा पौडेल फाउन्डेशनलाई कोलाब्रेटिभ पार्टनरको रुपमा साथ र सहयोग गर्ने सेती फाउन्डेसन, करुणा फाउन्डेशन, जर्मन को-अप्रेशन र नेपाल एफएमलाई फाउन्डेसनका तर्फबाट डिग्नीफाईड मेन्स्ट्रुएशन यूके च्याप्टरकी संयोजक सुधा गुरुङले धन्यवाद ज्ञापन गरिन् । त्यस्तै ऐड्स हेल्थकेयर फाउन्डेशनका दिपक ढुंगेल ले व्यक्तिगत र संस्थागत हिसाबमा पनि धेरै सहयोग गर्दै आएकोमा राधा पौडेलले हार्दिक आभार प्रकट गरिन् ।
नेपाल एफएमका प्रोग्राम डाइरेक्टर गोविन्द भट्टराईले मर्यादित महिनावारीबारे १ हजार वटा एपिसोड बनाउने प्रतिबद्धता जाहेर गरेअनुरुप हालसम्म ९६ वटा एपिसोडहरु प्रसारण गरिसकेको प्रस्तोता शोभा घिमिरेले बताइन् । नेपाल एफएमले मर्यादित महिनावारीबारे साप्ताहिक कार्यक्रम संचालन गर्नुका साथै मर्यादित महिनावारीबारे जनचेतनामूलक जिंगल प्रस्तुत गर्ने गरेको घिमिरेले बताइन् ।
राधा पौडेल फाउन्डेशनको अगुवाईमा ग्लोबल साउथ कोलालिजन फर डिग्नीफाईड मिन्स्टूएसन संजालले अन्तर्राष्ट्रियस्तरमा ६५ वटा देशहरुसँग मिली काम गरिरहेको छ । सो संजालले २०१९ डिसेम्बर ८ बाट अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउँदै आइरहेको छ । तालिमको अन्तिम दिन सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । अत्यन्त सिमित स्रोत र साधनका बीच पनि फाउन्डेशनले तालिम बडो सफलतापूर्कक सम्पन्न गर्न सफल भयो । सो तालिम सकिएलगत्तै सात प्रदेशका १४ जना पत्रकारहरुको अर्को टोलीलाई सोही तालिम दिन सुरु गरिसकिएको छ ।
यसरी राधा पौडेल फाउन्डेशनले मर्यादित महिनावारी अभियानमा निरन्तर काम गर्दै आइरहेको छ । साथै आउँदो ८ डिसेम्बरमा पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस सभ्य र भव्य तरिकाले मनाउन फाउन्डेशनले सबैलाई आह्वान गरेको छ ।