चितवन । राधा पौडेल फाउन्डेशनले चितवनको भरत शशीनगरस्थित श्री माध्यमिक विद्यालयमा मर्यादित महिनावारी अभिमुखीकरण तथा मर्यादित महिनावारी सामग्री वितरण गरेको छ ।
स्थानीय ३ वटा विद्यालयबाट झन्डै २५० विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको सहभागितामा यही शनिबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । त्यसअवसरमा फाउन्डेशनले १५० वटा मर्यादित महिनावारी सामग्री छात्राहरुलाई वितरण गरेको थियो ।
कार्यक्रममा विभिन्न छात्राहरुले आफू पहिलोचोटि महिनावारी हुँदाको अनुभव शेयर गरेका थिए । सोही क्रममा आफ्ना आमा, हजुरआमाहरुले महिनावारी हुँदा बुवा, हजुरबुवा, काका, दाइभाइ आदिको मुख हेर्न हुँदैन भन्दै २२ देखि क्रमश: ७ दिनसम्म अर्काको घरमा लगेर बार्नु परेको पीडादायी अनुभव सुनाएका थिए ।
कार्यक्रममा फाउन्डेशन संस्थापक अध्यक्ष राधा पौडेल, मर्यादित महिनावारी यूके च्याप्टर कोअर्डिनेटर सुधा गुरुङ र बेलायतबाट राधा पौडेल फाउन्डेशनमा वर्क प्लेसमेन्ट गर्न आएकी पीएचडी स्टुडेन्ट एबीगेलले आआफ्नो मन्तव्य राखेका थिए । सो क्रममा एबीगेलले बेलायतजस्तो विकसित देशमा पनि स्कूले केटीहरु खुलेर केटाहरुसामु महिनावारीको बारे कुरा गर्न नसक्ने, लाजको विषय भनेर लुकाउने कुरा बताइन् ।
चितवनमा आजभन्दा ३५-३७ वर्षअघि सामाजिक अभियन्ता राधा पौडेलले देखेको, उनका आमा र दिदीहरुले भोगेको विभेदपूर्ण व्यवहार आजको आधुनिक युगमा पनि छोरीहरुले भोगिरहेको अनुभव सुनाएका थिए । एउटी छात्राले भने आफू पहिलोचोटी महिनावारी हुँदा आमा र हजुरआमाले जत्ती भने पनि अर्काको घर लुक्न जान्न भन्ने दृढ अठोट गरेर ३ दिन आफ्नै घरमा लुकेर त्यसपछि परीक्षा दिन गएको अनुभव सुनाइन् । आजभन्दा साढे ३ दशकअघि राधा पौडेलले यस्तै विभेदपूर्ण व्यवहारविरुद्ध आवाज उठाउनाले आज मर्यादित महिनावारी अभियान नेपालमा मात्र नभई विश्वका ६५ वटा देशमा विस्तार भइसकेको छ ।
राधा पौडेलको अगुवाईमा राधा पौडेल फाउन्डेशनले निरन्तर मर्यादित महिनावारीको क्षेत्रमा काम गर्दै आइरहेको छ । महिनावारी छ र त तपाईं/हामी छौ, महिनावारीको रगत नितान्त शुद्ध रगत भएकोले महिनावारी भएका बेला महिला अपवित्र हुँदैनन् भन्ने ज्ञान कार्यक्रम संचालक सपना पौडेलले शेयर गरेकी थिइन् । यसरी खुलेर मर्यादित महिनावारीबारे बहस, वार्ता गर्दै गएमा एक दिन यो विभेद अन्त हुनेछ । राधा पौडेल यस अभियानमा अनवरत लागिरहेकी छन् ।
श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरनदास श्रेष्ठले आफ्नो विद्यालयलाई नेपालकै पहिलो मर्यादित महिनावारीमुक्त विद्यालय बनाउने प्रतिबद्धता जाहेर गरे । सो कार्यक्रमको संयोजन श्री माविकी शिक्षिका उषा पौडेलले गरेकी थिइन् ।