लन्डन । काउचा परिवार यूकेले बेलायतका राजाको कोरोनेशन (राज्याभिषेक) साथै बुद्ध पूर्णिमाको अवसरमा मा १५ औं वार्षिक भेटघाट भव्यताको साथ मनाएको छ ।
६ मे २०२३ शनिबारको क्याम्बर्लीस्थित रोयल एकेडेमी कम्युनिटी हलमा बेलायतका नवराजा चार्ल्स तृतीयको राज्याभिषेकको शुभकामना साथै बुद्ध पूर्णिमाको अवसर पारी दाजुभाइ भेटघाट, सामहिक चेलीबेटी मान्य कार्यक्रममा सामूहिक पितृ पूजा साथै शुभकामना आदानप्रदान कार्यक्रम मनाइएको हो । संस्थाका प्रमुख संयोजक डा. भिमबहादुर काउचामगरको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अथितिमा दाजुभाइका सबैभन्दा जेष्ठ सदस्य ८७ वर्षीय पूर्वभूपू गोर्खा भिमबहादुर काउचाको हातबाट दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।
पहिलो चरणमा काउचा परिवारले हरेक वर्षमा जस्तै सामूहिक पितृ पूजा गरेको थियो । पूजाको संयोजक मगर पूजारी तथा संस्थाका संस्थापक प्रमुख संयोजक ओमप्रसाद काउचा मगरले गरेका थिए । परम्पराअनुरूप उपस्थित सबै दाजुभाइ, चेलीबेटीहरूले पूजा फूलटीका, प्रसाद गरिएलगत्तै आधिकारिक कार्यक्रम सन्चालनमा दिवंगत पितृहरूको आत्मा शान्तिको कामना गरी मौनधारना गरेका थिए । साथै प्रोजेक्टरमार्फत ठूलो पर्दामा लगाएर टेलिभिजनमा लाईभ प्रोग्राम हेर्दै राज्याभिषेकको समय मिलाई ठिक्क राजालाई गद्दीआरोहण गर्ने समयमा राजाको शीघ्रस्वास्थ्य र उनको कार्यकाल अति उत्तमको साथ बितोस् भनी नेपाल र ब्रिट्रिसको राष्ट्रिय गानको साथ राजाप्रति शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका उच्च पदोनन्ती र गत वर्षमा शुभविवाह भएका नवदम्पतीहरू र उच्च शिक्षा हासिल गरेका साथै यस कार्यक्रम सफल बनाउन आर्थिकरूपमा आफ्नो स्वेच्छाले प्रायोजन दाताहरूलाई सम्मान र नयाँ दाजुभाइ सदस्यहरूलाई खाडा लगाई स्वागत गरिएको थियो । शुभकामना मन्तव्यको क्रममा निवर्तमान संस्थापक प्रमुख संयोजक ओमप्रसाद काउचा मगरले संस्थाको स्थापना र विगतका वर्षका सम्झना विगतमा गरिएका संस्थाको राम्रा निर्णयहरूको कार्यान्वयको समीक्षा र आउँदो दिनमा गर्नुपर्ने काम र दाजुभाइ र चेलीबेटीको महत्व विशेष मगर जातिको पौराणिक परम्परा र रीतिरिवाजमा केही कुरो प्रस्ट्याएका थिए भने यस्तै सिनियर सिटीजनहरूले शुभकामनाको साथ काउचा परिवारको परम्परा दाजुभाइ चेलीबेटीको महत्व र यस कार्यसमितिले गरेका कामको प्रशंसा गरेका थिए ।
संस्थापक संयोजक मान काउचाले काउचा परिवार यूकेको इतिहास छोटो आफ्नो अनुभव र महत्वको केही कुरा राखेका थिए भने काउचाहरूको पौराणिक इतिहास र त्यसको महत्वका विषयमा संस्थाका सल्लाहकार देवराज काउचाले प्रस्तुत गरेका थिए ।
दोस्रो चरणमा बेलायतको काउचा भाइहरू र विश्वका काउचा दाजुभाइसँग संयोजन गर्ने र काउचा वंशवलीको अध्ययनको जिमेवारी पाएका समाजसेवी र दाजुभाइ वंशवलीको ज्ञाता रिम काउचाले प्रोजेक्टरबाट आजसम्मको संकलित तथ्यांक र गरेका विवरण प्रस्तुत गर्दै विश्वका दाजुभाइ सबैलाई एकै ठाउँमा गोलबद्ध र एकैठाउँ डिजीटल माध्यमबाट सम्पर्क गरी वेबसाइट बनाएको र www.kauchabanshwali.comहेरी सहयोग र सुझाव गरिदिन अनुरोध गरेका थिए ।
कार्यक्रम समापन गर्ने क्रममा संस्थाका प्रमुख संयोजकले आजको कार्यक्रम एक ऐतिहासिक र सफल बनाउन सहयोग गर्ने सबै दाजुभाइ, चेलीबेटी हरूलाई र अग्रज हरूको महत्वपूर्ण सहयोगको निम्ति र विशेष प्रायोजन गर्नेहरूलाई धन्यवाद दिए । भविष्यमा पनि भाइ एकता दिगो रहोस् भन्दै संगठनमा गर्नुपर्ने योजना धेरै रहेको जनाउँदै पुन: भाइहरुबीच सल्लाह गरी निर्णय गरी अघि बढ्ने वचन दिँदै औपचारिक कार्यक्रम सम्पन गरेका थिए ।
कार्यक्रम सम्पन गर्नु धेरै महिनाबाट बन्दोबस्तमा कार्यक्रम संयोजकद्वय कोषाध्यक्ष मनी काउचा र सहकोषाध्यक्ष रत्न काउचाले गरेका थिए ।