लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको १० औं कार्यसमितिको आगामी २१ मे आइतबार हुने विशेष अधिवेशनको तयारी पूरा भएको छ । संघले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलन गरी सम्मेलन तयारी पूरा भएको जनाएको हो । अल्डरसटस्थित एम्पायर हलमा विशेष अधिवेशन हुँदैछ ।
विशेष परिस्थितिका कारण हकल विद्यमान विधानको गाँठो फुकाउन विधान संशोधनका लागि विशेष अधिवेशन गर्नु परेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए । अध्यक्ष गाहामगरले त्यसैदिन नयाँ सदस्यता खुला गरिने र सदस्यता शुल्क जम्मा ५ पाउन्ड तय गरिएको पनि जनाए । संघको महाधिवेशन आउँदो जुलाई २२ मा गरिने समेत अध्यक्ष गाहामगरले बताए । अर्को पक्षले पनि यही दिन अधिवेशन तय गरेको छ ।
बिहान ११ बजेदेखि हुने अधिवेशनमा संघको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन तयारी सम्बन्धमा छलफल, विधान संशोधन, नयाँ नेतृत्व चयन र काउन्सिल अवधारणाबारे सरसल्लाह, संस्थाको शुद्धीकरण तथा समुदायको एकीकरण र पारदर्शीता नाराको समीक्षालगायत संघको अबका प्राथमिकता र भावी योजनाबारे विचार विमर्श हुने जानकारी अध्यक्ष गाहामगरले दिए । वार्षिक प्रगति र आयव्यय प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।
अधिवेशनमा आतिथ्यका लागि एनआरएनए केन्द्रीय पूर्वअध्यक्षहरु सबैलाई निमन्त्रणा पठाइएको र एनआरएनए पूर् अध्यक्ष डा. शेष घले प्रमुख अतिथि हुने कन्फर्म भइसकेको गाहामगरले बताए । तीन जना अध्यक्ष भएको वर्तमान कार्यसमितिलाई भने उनीहरुविरुद्ध उच्च अदालतमा मुद्दा विचाराधिन भएकाले निम्तो नगरिएको उनले स्पष्ट पारे ।
विशेष अधिवेशनमा नेपालबाट राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, टेलिभिजनकर्मीहरु, गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, सम्पूर्ण पञ्जीकृत सदस्यहरुसहित बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रबुद्ध वर्ग तथा अभियन्ताहरुलाई निम्त्याइएको संघले जनाएको छ । प्रमुख अतिथि, विशेष अतिथि लगायतलाई एनआरएनए अफिसबाट पञ्चेबाजा र पाइपर धुनसहित एम्पायर हलसम्म लगिने पनि अध्यक्ष गाहामगरले जनाए ।
विशेष अधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी बहसलाई प्राथमिकता दिइएको गाहामगरले बताए । एनआरएनए नेता भनिनेहरुले परिचयपत्रमा चित्त बुझाएर वंशजको नागरिकतामाथि खेलवाड गरेको आक्षेप लगाउँदै उनले आफूहरु वंशजको नागरिकता निरन्तरता हुनुपर्छ भन्ने आन्दोलनलाई झन् तीव्र रुपमा अगाडि बढाउने तयारीमा रहेको पनि बताए । त्यस दिन बहसबाट आएको निष्कर्षसहितको ज्ञापनपत्र नेपाल सरकारलाई दिइने पनि गाहामगरले बताए ।
बेलायतमा भूतपूर्व गोर्खाहरुको बाहुल्यता र भावनालाई नजरअन्दाज गर्दै उनीहरुलाई धोका दिइएको पनि गाहामगरले दाबी गरे । 'उनीहरुले अहिलेसम्म हामी गोर्खाहरुलाई भ्रममा राखे तर अब परिस्थिति परिवर्तन भइसकेको छ', गाहामगरले चेतावनी दिए, 'परिचयपत्र सरहको नागरिकता कार्यान्वयनमा आउँछ भन्दै हिँड्ने कुल आचार्यजीलाई बेलायतवासीले क्षमा दिने छैनन् ।'
अधिवेशनमा विधान संशोधनका लागि सल्लाहकार विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव मगर संघ यूके उपाध्यक्ष रुद्र थापा र सदस्य पत्रकार टेकबहादुर थापा क्षेत्री रहेको समिति बनाइएको पनि गाहामगरले जनाए । आइसीसी पूर्वसदस्य तिगेला यसअघि विधान समिति यूकेको सदस्यसचिव र केन्द्रिय विधान संशोधन समिति सदस्य भएर पनि काम गरिसकेका छन् ।
अध्यक्ष गाहामगरले यसअघि नै सबैलाई निमन्त्रणा पठाइसकिएको जनाउँदै नपुगेको भए यसैलाई आधार मानेर कार्यक्रममा आइदिन पनि आग्रह गरे ।
एनआरएनए यूके महासचिव नम्रता घले गुरुङले स्वागत गरेपछि पत्रकार सम्मेलन अगाडि बढेको थियो । सो क्रममा महिला संयोजक अमृता गिरी गजुरेल, उपाध्यक्ष तथा प्रवक्ता भरतमणी चोङवाङ, कोषाध्यक्ष चम्पा थापामगर, सदस्य धन तामाङलगायतले बोलेका थिए । उनीहरुले बेलायतस्थित सम्पर्ण पञ्जीकृत सदस्यहरु र अतिथीलाई निम्तो पठाइसकिएको जनाउँदै सहभागिताका लागि अपिल गरेका थिए ।
कार्यक्रममा सहकोषाध्यक्ष रविन गुरुङ, सदस्यहरु निकेश लिम्बू, मनिकला राई गुरुङ, ग्यान्जु शेर्पा, चेतन राना लगायत सदस्य सहभागी थिए ।