लन्डन । किरात राई यायोक्खा बेलायतले किरात राईहरुको महान् चाड उभौली साकेला मनाएको छ ।
शनिबार आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेन गिल्डफोर्डमा नाकछोङ किताबसेर राई र टोकाया जगत राईद्वारा सिमे भूमे मातृ पूजा आराधना गरी मन्चबाट सिलिमोमा सिलिमोपालगायत झ्याम्टा ढोल बजाउँदै साकेला नृत्य प्रदर्शन गर्दै साकेला थान प्रस्थान गरी उभौली पूजा गरिएको हो ।
कार्यक्रमको दोस्रो चरणमा सम्पूर्ण उपस्थित अतिथिहरुलाई आशनग्रहण गराउँदै संस्थाका उपमहासचिव प्रमिला लाबुङ राईले उभौली साकेलाको महत्वबारे प्रस्ट्याएका थिए । कार्यक्रमको अवधिमा केही आपतकालीन आइपरेमा सुरक्षासम्बन्धी अपनाउनु पर्ने सेफ्टी ब्रीफ उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राईले जानकारी गराएका थिए ।
सिनियर पुर्खा रत्नबहादुर राई प्रमुख अतिथि गिल्डफोर्ड बोरो अफ काउन्सिलका मेयर मासुक मिह, विशेष विशेष अतिथि गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर र अध्यक्ष चन्द्रबहादुर राईले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रम संयोजक उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यका क्रममा बेलायतका राजा चार्ल्स तृतीयले राजगद्दी ग्रहण गरेको शुभदिनको शुभउपलक्षमा थ्री चेस हिप हिप हुरे पनि गराएका थिए ।
आफ्नै किरात भूमि नेपाललाई स्मरण गर्दै नेपालको राष्ट्रिय गीत र ब्रिटिस एन्थम बजाएर कार्यक्रममा उपस्थित दर्शक अतिथिहरुलाई आश्चर्यचकित बनाएका थिए । विशेष अतिथिमगरले मन्तव्यको क्रममा नेपालको राजनीति समसामयिक विषयमा बोलेका थिए । प्रमुख अतिथि मियाँले साकेला कार्यक्रम सफल भएको र आगामी दिनहरुमा पनि सफलताको शुभकामना दिँदै धन्यवात ज्ञापन गरेका थिए । अध्यक्ष राईले प्रमुख अतिथि, अन्य अतिथिहरुलाई सम्बोधन गर्दै उभौली साकेला पर्वको महत्व जानकारी गराएर साकेला कार्यक्रममा उपस्थित सम्पूर्ण मान्यजनहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।
चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरु काउन्सिलर नेम थापा, काउन्सिलर जिब बेल्बासे, तमु प्हे ल्हु संघ यूकेका अध्यक्ष अमर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ यूकेकी अध्यक्ष गोमा राना, किरात याक्थुङ चुम्लुङ यूकेका महासचिव जुरेन्द्र खजुम, मगर संघ यूकेका उपाध्यक्ष रुद्र थापा, धरान समाज यूकेका अध्यक्ष रमेश लिम्बु, फोल्कस्टन नेपाली समाजका पूर्वअध्यक्ष चन्द्र गुरुङ र एभरेष्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्र नेम्बाङको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सचिव गंगाराज राई र उपमहासचिव प्रमिला लाबुङ राईले सन्चालन गरेका थिए भने अतिथिहरुलाइ होस्ट गर्नका लागि उपाध्यक्ष अनिता राई उपाध्यक्ष निलम राई र सदस्य दिलीप राई खटेका थिए ।
औपचारिक कार्यक्रम समापनपछि बहुभाषिक किरात राई जातिको भाषिक संस्था अथवा समुदायहरु, साम्पाङ राई, चाम्लिङ राई, बान्तवा राई आदिले भाषागत थरगत सिली प्रदर्शन गरेका थिए भने र किराया बेलायतको स्ठानीय समन्वय परिषद् ग्रेटर रसमोरको तर्फबाट पनि साकेला सिली प्रदर्शनी गरिएको थियो । साकेला उत्सव आयोजनामा उपस्थित सबैले साकेला नाचेर भरपुर मनोरन्जन लिएका थिए । आयोजक संस्था किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालयले यस वर्षको साकेलालाई, नेपालको प्रदेश एकको नामकरणको विरोधमा उठेको पहिचानको आन्दोलनलाई समर्थन गर्दै 'नो कोशी' थिममा आयोजना गरेको थियो ।