पोखरा । माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँभन्दा माथिको सानदार व्यापार गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यस चलचित्रले कुल १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँको ग्रस कलेक्सन गरेको छ। यो कमाइसँगै हालसम्म चलचित्रका ३ लाख ६० हजार ५८३ थान टिकट बिक्री भइसकेका छन्।
गत भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले लामो समयसम्म हलहरूमा दर्शकको बलियो साथ पाउँदै आएको छ। पोखराको स्थानीय परिवेश, माटोको सुगन्ध र आफ्नै मौलिक जीवनशैलीको कथालाई पर्दामा उतारेर पनि बक्स अफिसमा कीर्तिमानी व्यापार गर्न सकिन्छ भन्ने दरिलो उदाहरण यो चलचित्र बनेको छ। दर्शकबाट प्राप्त लगातारको सकारात्मक प्रतिक्रियाले गर्दा नै चलचित्रले बक्स अफिसमा यति ठूलो फड्को मारेको हो।
यसैबीच बोर्डको तथ्याङ्कअनुसार अन्य चलचित्रहरूको व्यापार पनि करोड माथि नै देखिएको छ। जसमा ‘आ बाट आमा २’ ले ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ, ‘बा : एक योद्धा’ ले ३ करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ, ‘छ माया छपक्कै २’ ले २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ तथा ‘१२ गाउँ २’ ले १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँको कुल ग्रस व्यापार गरेका छन्।
अर्कातर्फ, प्रदर्शनमा रहेको चलचित्र ‘कबड्डी ५’ ले आइतबारसम्म ५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको निर्माण पक्षले दाबी गरेको छ। यद्यपि बोर्डले भने यसको आधिकारिक बक्स अफिस विवरण आगामी सोमबार मात्रै सार्वजनिक गर्ने बताएको छ। पछिल्लो समय दसैँको अवसर पारेर रिलिज भएका सबै चलचित्रले करोडभन्दा माथिको कमाइको आँकडा पार गरेका छन्।
बक्स अफिसमा देखिने कुल व्यापार नै चलचित्रको वास्तविक मुनाफा नहुने विज्ञहरू बताउँछन्। चलचित्रले लगानी सुरक्षित गर्यो वा घाटा व्यहोर्यो भन्ने विषय निर्माण लागत, प्रचार–प्रसार खर्च र वितरक तथा प्रदर्शकको सेयर बाँडफाँटमा निर्भर हुने भएकाले कुल कमाइका आधारमा मात्र पूर्ण मूल्याङ्कन गर्न सकिँदैन। जे भए पनि, ‘पेन्सन पट्टा’ले प्राप्त गरेको यो ऐतिहासिक सफलताले नेपाली मौलिक कथा र स्थानीय जीवनका यथार्थपरक विषयवस्तुमा दर्शकको उच्च विश्वास रहेको तथ्यलाई भने स्पष्टसँग प्रमाणित गरिदिएको छ।