बेलायत । डिबिसी यूकेद्वारा आयोजना गरेको वर्ष २०२६कॊ ११ दिने धार्मिक तिर्थाटन संस्थाका निवर्तमान अध्यक्ष योगेश गुरुङको संयोजनमा सम्पन्न भएको छ ।
यस धार्मिक तिर्थाटनमा सबैभन्दा पहिल्ये हिमाचल प्रदेश स्थित धर्मशाला जहाँ तिब्बत निर्वासित सरकारको केन्द्रीय प्रशासन रहेको छ र परम पावन पुज्यनीय गुरू दलाई लामाको निवास रहेकॊ छ, त्यहाँ गुरु दलाई लामासंग दर्शन भेट गरेर अन्य धार्मिक स्थलहरूको भ्रमण गरेका थिए । भ्रमण टोलीले परम पावन पुज्यनीय दलाईलामाको अभिषेक प्राप्त गरेपछि क्रमश: भ्रमण गरेका स्थलहरू औराङ्गबाद स्थित बौद्ध गुफाहरू, विश्वप्रसिद्ध अजन्ता र एलॊराका गुफाहरू अवलोकन गरेका छन् । महाराष्ट्र स्थित एलोरामा छैठौ र सातौ शताब्दिमा निर्माण गरेका बौद्धधर्म सम्बन्धित गुफाहरू एकदेखि १२ सम्म, त्यस्तै आठौ र नवौ शताब्दिताका निर्माण गरेका हिन्दुधर्म सम्बन्धि गुफा नम्बर १३ देखि ३९ सम्मका कैलाश गुफा र अन्य गुफाहरू र जैन धर्मका दशौ शताब्दिताका निर्माण गरेका गुफाहरू भ्रमण गरेका थिए ।
त्यसपछि महाराष्ट्रको औरंगबाद जिल्ला स्थित अजन्ताको गुफाहरू, बौद्ध धर्मसंग सम्बन्धित घोडाको नाल आकारकॊ चट्टानलाई तरासेर बनाईएका ३०वटा गुफाहरूकॊ पनि अवलोकन गर्दै भ्रमण गरेका थिए । अजन्ताका यी चट्टानी गुफाहरू ईसापूर्व दोस्रो शताब्दिदेखि चौथो शताब्दि, लगभग ६०० वर्षको दौरान आजभन्दा २२०० वर्ष पहिल्ये निर्माण गरेको थियो । अजन्ता र एलोरा गुफाहरू युनेस्कॊले विश्वसम्पदा सूचीमा राखेकॊ छ ।
महाराष्ट्रको यी विश्व सम्पदाहरुको भ्रमण पश्चात मुम्बईको बिपाश्याना ध्यान केन्द्रको भ्रमण गरेर ११ दिनको तिर्थ यात्रा अर्थपूर्ण र स्मरणीय रहेको कुरा भ्रमण संयोजक, संस्थाका निवर्तमान अध्यक्ष योगेश गुरुङ बताउँछन् । उनले यस यात्रामा विशेष गरेर परम पुज्यनीय दलाई लामा गुरुको दर्शन र आशिर्वाद ग्रहण गर्नुका साथै बिभिन्न धार्मिक स्थानहरूमा सहजताका साथ भ्रमण गरेका विवरण दिएका छन् । परम पुज्यनीय दलाई लामा गुरुलाई मण्डला अर्पण गर्ने अवसर प्राप्तहुँदा सम्पूर्ण तिर्थयात्रीहरु भावविभॊर भएर खुशी भएका थिए ।
भ्रमण संयोजक अनुसार परम पुज्यनीय दलाईलामा गुरुलाई दर्शनभेट गर्दा केहि दिदि बहिनीहरूले गुरुङ पोशाक र जातीय पोशाकहरू धारण गरेकाले धेरै सुन्दर र प्रभाव परेकॊ थियॊ भन्ने कुरा व्यक्त गरेका छन् । निवर्तमान अध्यक्ष, योगेश गुरुङले बेलायत भन्दा बाहिरका तिर्थाटनहरूकॊ संयोजन निरन्तर गर्दै आएका छन् । यस धार्मिक तिर्थाटनमा अन्य स्थलहरू क्रमश: औरंगबाद स्थित बिबिका मकबरा, महाराष्ट्रका सिद्धिविनायक गणेश मन्दिर, गृनेश्वर मन्दिर, हिमाचल प्रदेशका नर्बुलिंङ ईन्सटिट्यूट, ग्युतो तान्त्रिक मॊनस्टरी र भाग्शु नाग टेम्पलको भ्रमण गरेका थिए ।
नि वर्तमान अध्यक्ष / संयोजक योगेश गुरुङद्वारा आयोजना गरिएको यो पाचौं अन्तरास्ट्रिय तिर्थ यात्रा 20 Sep मा प्रारम्भ भएर 30 Sep मा धेरै अर्थपूर्ण र स्मरणीय रुपमा समापन भएको छ ।