पोखरा । अन्तर्राष्ट्रिय धावक तथा पूर्व ब्रिटिस गोर्खा सैनिक ले.रि. कुसाङ कुमार गुरुङले पोखरामा हुने तेस्रो संस्करणको खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् ।
पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा असोज २४ गते हुने प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगितामा दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
गुरुङले यसअघि पनि पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन गरेका थिए । प्रतियोगिता संयोजक दीननाथ बरालले अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम स्थापित गर्न योगदान गरेका गुरुङसँग यस वर्ष पनि प्रथम पुरस्कार प्रायोजनका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
प्रथम पुरस्कार प्रायोजन गरेसँगै प्रतियोगिता सम्पन्न नहुँदासम्म विभिन्न निकाय तथा सरोकारवालासँग हुने छलफल र प्रचार–प्रसारमा गुरुङको तस्वीरसहितको लोगो समावेश गरिने पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले बताए ।
फलेवास नगरपालिका–८, खाल्टेमा जन्मिएका गुरुङले ब्रिटिस सेनामा २४ वर्ष सेवा गरी लेफ्टिनेन्ट पदबाट अवकाश पाएका हुन् । खेलकुदमा सक्रिय उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका छन् ।
गुरुङले ब्रिटिस फोर्सेस हङकङ क्रसकन्ट्री, ब्रिटिस आर्मी क्रसकन्ट्री तथा एथ्लेटिक्स प्रतियोगितालगायतमा सफलता हासिल गरेका छन् । उनले फोर पिक रेस हङकङमा कीर्तिमानी समयसहित स्वर्ण पदक तथा अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथनमा रजत पदकसमेत जितेका छन् ।
उनले १९ म्याराथन र २३ हाफ म्याराथन पूरा गरेको आयोजकले जनाएको छ । मलेसियामा आयोजित माउन्ट किनाबालु क्लाइम्बाथनमा लगातार तीन पटक सफलता हासिल गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको आयोजकको भनाइ छ ।
खेलकुदसँगै गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी तमुधीं यूके, चार भञ्ज्याङ तमु समाज यूके, एनआरएनए यूके, क्याम्बर्ली नेपालीज गोर्खा सोसाइटीलगायत संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।
प्रतियोगिताको दोस्रो संस्करणमा आठ देशका १६७ जना धावक सहभागी भएका थिए । यस वर्ष खुलातर्फसहित छ वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।