लन्डन । गोर्खा मिडिया लिमिटेड यूकेद्वारा सञ्चालित गोर्खामिडियाडटकम (gurkhamedia.com) को छैटौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।
‘सूचना र सामाजिक सेवा सँगसँगै’ मुख्य उद्देश्य रहेको यस मिडियाले आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा विशेष समारोहबिच वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि तथा नेपाल पत्रकार सहासंघ यूकेका अध्यक्ष विमला सेने विशेष अतिथि रहेका थिए ।
प्रबन्ध निर्देशक तमुको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक सह–सम्पादक प्रकाश गुरुङले नै स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए ।
प्रमुख अतिथि, विशेष अतिथि, मुख्य सल्लाहकार र प्रबन्ध निर्देशकले संयुक्त रूपमा पानसमा बत्ती बालेका थिए । त्यसपछि यूके र नेपालको राष्ट्रिय गानमा सबै सहभागी भएका थिए ।
लगत्तै नेपालका बाढीपीडित र हालै पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जा एमबीईको सम्झनामा मौनधारण गरिएको थियो । गायिकाद्वय प्रिया गुरुङ र निता थापाले राष्ट्रिय भावले ओतपोत भएको गीत प्रस्तुत गरेका थिए ।
मुख्य सल्लाहकार एकेन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए । उनले उपस्थित सबैलाई मन्तव्यले स्वागत गरेका थिए । त्यसपछि गोर्खा मिडियाको हालसम्मको यात्रा समेटिएको भिडियो प्रस्तुत गरियो ।
वार्षिकोत्सवका अवसरमा गोर्खा मिडियाले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा विश्वकीर्तिमानी डा. हरि बुढामगर, स्वास्थ्यकर्मी तथा समाजसेवी मञ्जु गुरुङ राई, एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरुङ, अभिनेत्री मिरुना मगर र गायिकाद्वय प्रिया गुरुङ र सुनिता थापामगर रहेका छन् ।
उनीहरूलाई गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, प्रमुख अतिथि दुवाडी र सल्लाहकार एकेन्द्र गुरुङले दोसल्ला, प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।
सम्मानित व्यक्तित्वहरूको छोटो भिडियो बायोग्राफीसमेत प्रस्तुत गरिएको थियो भने सह–सम्पादक प्रकाश गुरुङले प्रशंसापत्र वाचन गरेका थिए ।
सम्मानित हुनेहरूले पनि आफ्नो भनाइ राखेका थिए । गोर्खा मिडियाबाट सम्मानित हुन पाउनु आफूका लागि गर्वको कुरा भएको उनीहरूको भनाइ थियो ।
प्रमुख अतिथि एवं कार्यवाहक राजदूत दुवाडीले गोर्खा मिडिया छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उनले गोर्खा मिडियाले यूकेमा रहेर सूचना र समाजसेवाको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
विशिष्ट अतिथि सेनेले पनि गोर्खा मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना व्यक्त गरिन् । गायिका प्रिया र निताले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपी र एनआरएनए यूकेका पूर्वअध्यक्ष पुनम गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
अन्त्यमा प्रबन्ध निर्देशक मिलन तमुले समापन मन्तव्य राखेका थिए । उनले वार्षिकोत्सव सफल बनाउन सहयोग गर्ने विज्ञापनदाता, प्रायोजक, शुभचिन्तकका साथै प्रधानसम्पादक हुम गुरुङ, सह-सम्पादक प्रकाश गुरुङ, उपसम्पादकद्वय सीताराम गुरागाईं (काठमाडौँ) र सुमन गुरुङ (पोखरा), भिडियोमा सागर तामाङ, ओम लामा, डीजेमा डीएमटी ब्यान्डका दिनेश गुरुङ संगिना गुरुङ, बुद्ध गुरुङ, फोटोग्राफर तेज गुरुङलगायत सबैलाई धन्यवाद दिए ।
पाठक, दर्शक, शुभेच्छुककै माया, विश्वास र सहयोगका कारण गोर्खा मिडिया यस अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरे । तथ्यपूर्ण सूचना र समाजसेवाको कर्मलाई अझ परिष्कृत गर्दै निरन्तरता दिने भनाइसहित उनले कार्यक्रम समापन गरेका थिए ।
यूकेसहित डायस्पोरामा रहेका नेपाली समुदायमाझ सत्य र निष्पक्ष पत्रकारिताको रिक्तता परिपूरण गराउने र समाजसेवालाई पनि सँगसँगै अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको हो ।