फार्नबोरो । बेलायतमा रहेका ६ गोर्खा राइफल्सका पूर्वसैनिक तथा परिवारजनको वार्षिक भेटघाट कार्यक्रम फार्नबोरोमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ४०० जना सदस्य तथा परिवारजनको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात दीप प्रज्ज्वलनबाट गरिएको थियो। मे. रि. खुशीमान गुरुङ र क्या. रि. माइक चेनिङले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरेपछि नेपालको राष्ट्रिय गान र बेलायतको राष्ट्रिय गान बजाइएको थियो।
त्यसपछि रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरू, हिमपहिरोमा परी दिवंगत भएका निर्मल पुर्जा MBE तथा वर्षभरिमा दिवंगत भएका ६ गोर्खा राइफल्सका सदस्यहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रममा रेजिमेन्टका सदस्यहरूको सामूहिक तथा कम्पनीगत फोटो खिचिएको थियो। ६ गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनका अध्यक्ष ब्रिगेडियर जोन एन्डरसनलाई रेजिमेन्टको तर्फबाट कोथीमारा खुकुरी मायाको चिनो प्रदान गर्ने कार्यक्रम तय भए पनि स्वास्थ्य अवस्थाका कारण उनी कार्यक्रममा उपस्थित हुन सकेनन्। उनको तर्फबाट हुनेवाला अध्यक्ष मेजर प्याडी ग्र्यान्डले उक्त मायाको चिनो ग्रहण गरेका थिए।
यस अवसरमा सार्जेन्ट चकबहादुर गुरुङले हाउस अफ पार्लियामेन्टको लोगो अंकित ह्विस्कीको बोतल पनि हस्तान्तरण गर्न आयोजक टोलीलाई दिएका थिए। कार्यक्रममा बोल्दै मेजर खुशीमान गुरुङले ब्रिगेडियर एन्डरसनले लगातार २३ वर्षसम्म रेजिमेन्टल एसोसिएसनको अध्यक्षको जिम्मेवारी सम्हालेको जानकारी गराए।
कार्यक्रम संयोजक मेजर खुशीमान गुरुङ र सहसंयोजक अमृत गुरुङको नेतृत्वमा स्वयंसेवकहरूले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा रेजिमेन्टका नयाँ सदस्यहरूको उल्लेख्य सहभागिता देखिएको थियो। सहभागीहरूले लामो समयपछि पुराना साथी तथा सहकर्मीहरूसँग भेटघाट गर्न पाउँदा कार्यक्रम अझ आत्मीय र भावनात्मक बनेको बताएका थिए।
३४ वर्षपछि पुनर्मिलन
सहसंयोजक अमृत गुरुङका अनुसार यस वर्षको भेटघाटको विशेष पक्ष भनेको केही सदस्यहरूले ३४ वर्षपछि एकअर्कालाई पुनः भेट्न पाउनु थियो। ६ गोर्खा राइफल्स सन् १९९४ मा विघटन भएपछि धेरै पूर्वसैनिकहरू दशकौँसम्म आफ्ना पुराना सहकर्मी तथा साथीहरूबाट टाढा रहेका थिए।
लामो समयपछि एउटै स्थानमा भेला भएर पुराना सम्झना साटासाट गर्ने, हाँसखेल गर्ने र पुराना मित्रता पुनः ताजा गर्ने अवसरले कार्यक्रमलाई भावुक र अविस्मरणीय बनाएको अमृत गुरुङले बताए।
उनले रेजिमेन्ट परिवारका रूपमा कायम रहेको एकता, भाइचारा, आत्मीयता, समझदारी र आपसी सहयोगलाई यस वर्षको उल्लेख्य सहभागिताले पुनः प्रमाणित गरेको उल्लेख गर्दै सम्पूर्ण आयोजक तथा समन्वयकारी टोली र स्वयंसेवकहरूलाई धन्यवाद दिए।
दिदीबहिनीका लागि रेजिमेन्टको ब्याज भएको सारी
कार्यक्रममा आगामी वर्षदेखि ६ गोर्खा राइफल्सको ब्याज अंकित सारी दिदीबहिनीहरूका लागि तयार गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भएको छ। सोही अवसरमा १३० भन्दा बढी महिलाहरूले सारीका लागि आफ्नो नाम दर्ता गराएका छन्।
कार्यक्रम संयोजक मेजर खुशीमान गुरुङका अनुसार नेपालमा सम्बन्धित पक्षसँग सम्पर्क गरी सारीको डिजाइन, गुणस्तर र मूल्यबारे आवश्यक प्रक्रिया अगाडि बढाइनेछ र त्यसबारे सदस्यहरूलाई जानकारी गराइनेछ।
नेपालबाट शुभकामना
६ गोर्खा राइफल्स एसोसिएसन नेपालका अध्यक्ष लेफ्टिनेन्ट पूर्णबहादुर गुरुङले पोखराबाट पठाएको शुभकामना सन्देशमा बेलायतमा आयोजना गरिएको वार्षिक पुनर्मिलन सफलताको शुभकामना दिएका थिए।
उनले ६ गोर्खा राइफल्सका सदस्य तथा परिवारहरूको तर्फबाट व्यक्तिगत सहयोगसँगै संस्थागत रूपमा पनि भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गरिएको जानकारी दिएका छन्।
ले. रि. गुरुङले आगामी १६ मे २०२७ मा ६ गोर्खा राइफल्सको २१०औँ जन्मजयन्ती नेपालमा मनाउने तयारी रहेको उल्लेख गर्दै विदेशमा रहेका ६ गोर्खाका सदस्यहरूलाई पोखरा, काठमाडौं, बुटवल वा चितवनमध्ये कुनै एक स्थानमा हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिएका छन्।

आयोजकको धन्यवाद
कार्यक्रम संयोजक मेजर खुशीमान गुरुङले वार्षिक भेटघाट कार्यक्रममा करिब ४०० जनाको सहभागिता रहेको जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरे।
उनले व्यवस्थापनका क्रममा केही कमीकमजोरी भएको भए त्यसका लागि आयोजक टोलीका तर्फबाट क्षमा माग्दै आगामी कार्यक्रमलाई अझ व्यवस्थित बनाउन सदस्यहरूका सुझाव र सल्लाहको अपेक्षा गरेका छन्।
त्यसैगरी, ६ गोर्खाका मे. रि. खुशीमान गुरुङ MVO ले पनि कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम आयोजना गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन्। उनले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै रेजिमेन्टको गौरव र परम्परालाई संरक्षण गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन्।
सांस्कृतिक कार्यक्रम र राफल ड्र
कार्यक्रममा राफल ड्र तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएको थियो। राफल ड्रको सञ्चालन ग्याम गुरुङले गरेका थिए।
नेपालबाट आएका गायिका निता थापा मगर र डान्सर सरिष्मा मगरले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो। साथै क्या. रि. बिरबहादुर थापा र खमिरजङ्ग गुरुङले पनि गीत गाएका थिए।
कार्यक्रमको सञ्चालन प्रकाश गुरुङले गरेका थिए भने कार्यक्रमका विभिन्न गतिविधि तथा महत्वपूर्ण क्षणहरू गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले तस्बिरमा कैद गरेका थिए।
समग्रमा, लामो समयपछि पुराना सहकर्मी, साथीभाइ तथा परिवारजनसँग भेटघाट गर्ने अवसर प्राप्त भएको यस वर्षको ६ गोर्खा राइफल्सको वार्षिक पुनर्मिलनले रेजिमेन्टप्रतिको माया, एकता, भाइचारा र पुरानो सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् । 