अल्डरसट । नेपालमा सेरब्रल पाल्सीबाट पीडित बालबालिकालाई आर्थिक तथा सामाजिक सहयोग पुर्याउने उद्देश्यका साथ नेप्लिज नर्सिङ एसोसिएसन युके अल्डरसटमा एक विशेष परोपकारी कार्यक्रमको आयोजना गरेको छ।
युकेमा कार्यरत नेपाली नर्सहरूलाई एकताबद्ध गरी वृत्ति विकासमा सघाउने उद्देश्यले स्थापित उक्त संस्थाले आयोजना गरेको कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका अगुवा तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति थियो। आइतबार (२३ अगष्ट) मा आयोजित कार्यक्रमको बरो अफ रसमूरका मेयर पिटर कलमले दीप प्रज्वलन गरी उद्घाटन गरे ।
कार्यक्रमको सुरुमा नेपाल तथा युकेको राष्ट्रिय गान बजाउनुका साथै हालै पाकिस्तानमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ ) लगायत अन्य पर्वतारोहीहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। रसमूरका मेयर पिटर कलमले युकेको बहुसांस्कृतिक समाजमा नेपाली तथा गोर्खा समुदायले उल्लेख्य योगदान पुराएको बताए।
उनले अनुशासित, सभ्य र सहृदयी नेपाली नर्सहरुले पुराएको योगदानको प्रशंसा गर्दै यो 'लिगेसी' नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न सुझाव दिए । त्यसैगरी रसमूर काउन्सिलका काउन्सिलर जीव बेलबासेले नेपाली नर्सहरूले बेलायती समाज र नेपाली समुदायलाई पुर्याएको सेवाको सराहना गरे। मेयर कलमलाई नेपाली ढाका टोपी र शल ओढाएर सम्मान गरिएको थियो।
नेप्लिज नर्सिङ एसोसिएसन युकेकी अध्यक्ष रश्मिता दर्लामीले सन् २०१५ देखि एसोसियसनमा आबद्ध भएको स्मरण गर्दै संस्था अहिले सामाजिक समूहबाट एक व्यावसायिक संस्थाका रूपमा विकास भएको बताइन्। "हाम्रो वास्तविक उपलब्धि नै असहाय र सेवाको आवश्यकता भएकाहरूको सेवा गर्नु हो। 'एकपटकको नेपाली सधैंको नेपाली, एकपटकको नर्स सधैंको नर्स,' यो विरासतलाई निरन्तरता दिन हामीलाई थप नर्सहरूको साथ चाहिएको छ," उनले भनिन्।
संस्थाकी उपाध्यक्ष इन्दिरा बस्याल तिवारी तथा प्रजु सापकोटाले सन् २००८ मा संस्था स्थापना भएदेखि हालसम्म संस्थाले गरेका कामहरुबारे संक्षेपमा जानकारी दिए।
सांस्कृतिक प्रस्तुति तथा सचेतना
सेरब्रल पाल्सीबारे सचेतना फैलाउन 'सेल्फ हेल्प ग्रुप फर सेरब्रल पाल्सी नेपाल' को वृत्तचित्र प्रदर्शन गरिनुका साथै अध्यक्ष रश्मिता दर्लामीद्वारा लिखित तथा निर्देशित जनचेतनामूलक नाटक मञ्चन गरिएको थियो। नाटकमा एनएनए युकेका कार्यसमिति सदस्यहरु आशा धौगोडा, अल्पना अधिकारी, लर्निङ्ग एण्ड डेभलपमेन्ट कोअर्डीनेटर चित्रा संजेल तथा अमेलिया संजेलले रोल प्ले गरेका थिए।
कार्यक्रममा बाँसुरी वादक धनबहादुर गुरुङ र कम्युनिटी नर्स रति श्रेष्ठको बाँसुरी धुन, प्रबोध भण्डारीको मादल वादनका साथै बिनु लामिछाने घिमिरे, अदिति अधिकारी, वेदिशा भट्ट, सुरक्षा भट्ट लगायतको नृत्य प्रस्तुतिले रौनक थपेको थियो। त्यस्तै वयोवृद्ध कलाकार सेवानिवृत्त क्याप्टेन वीर बहादुर गाहाले रोचक गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए।
संस्थाको तर्फबाट आउँदो सेप्टेम्बरमा हाफ म्याराथनमा भाग लिन लागेकी कार्यसमिति सदस्य सुनिता बोहोरा कार्की र कलाकारहरूलाई सम्मान गरिएको थियो। त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजकहरू होम इन्स्टेड (ग्रिनिच एण्ड बेक्स्ली), ए स्टार फाइनान्सियल सलुशन्स युके, इरो सुशी, गोर्खा कन्स्ट्रक्शन लिमिटेड, एभरेस्ट लाउन्ज, बीर होम्स, नेपाल फूड, ब्रिज इन्टरन्याशनल कन्सलटेंसी, माइग्रेशन लिमिटेड लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै, राफल पुरष्कारको व्यवस्था पनि गरिएको थियो।
हिलिङ्डन गोर्खा नेपाली समाजका अध्यक्ष शुक्र तामाङले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै ४३० पौण्ड सहयोग हस्तान्तरण गरे। त्यत्सै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले ३०० पौण्ड सहयोग घोषणा गरे। अन्य दाताहरुले पनि सहयोग प्रदान गरेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष दर्लामीले सबै सहभागी, प्रायोजकहरु, पाहुना, संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको सञ्चालन संस्थाकी कल्याणकारी संयोजक बिनु लामिछानेले गरेकी थिइन्।
नेप्लिज नर्सिङ्ग एसोसियसन युकेले जुम्लामा मितेरी बर्दिंग सेन्टर स्थापना गरेको छ भने नेपालमा महाभूकम्प र कोभिड महामारीको बेला पनि सघाएको थियो।
यसबाहेक संस्थाले बेलायतका विभिन्न स्थानमा भूतपूर्व गोर्खा लगायत नेपाली समुदायका लागि स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ।



