पोखरा । पोखराका क्रियाशील पत्रकार भूपाल गुरुङ ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन् । बुधबार पोखरामा आयोजित एक विशेष समारोहका बीच उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।
यसअघि गत जेठ २० गते घान्द्रुकमा आयोजित छैटौं अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण आरोहण दिवसको समापन समारोहमा उनलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको थियो । तर, सो समयमा पत्रकार गुरुङ अचानक अस्वस्थ भएपछि पुरस्कार वितरण कार्यक्रम स्थगित गरिएको थियो। हाल कान्तिपुर टेलिभिजनमा कार्यरत गुरुङ नेपाल पत्रकार महासंघ, कास्कीका सचिवसमेत हुन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष ‘अन्नपूर्ण आरोहण दिवस’ (जुन ३) को अवसर पारेर अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुर्याउने एक जना पत्रकारलाई प्रदान गरिँदै आएको छ। समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन–२०८३ का संयोजक ललित गुरुङले पर्यटन क्षेत्रको विकासमा पत्रकारितामार्फत पु¥याएको योगदानको कदर गर्दै गुरुङलाई पुरस्कृत गरिएको जानकारी दिए ।
पुरस्कारका लागि प्रतिभा छनोट समितिले नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा गठन गरेको थियो। समितिमा हरिप्रसाद भट्टराई, टंकराज अधिकारी, ललित गुरुङ र दिलीप गुरुङ सदस्य रहेका थिए ।
विसं २०६४ देखि पत्रकारितामा निरन्तर सक्रिय गुरुङ यसअघि पनि क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार, टंकदेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कारलगायतका विभिन्न प्रतिष्ठित सम्मानबाट सम्मानित भइसकेका छन् ।
पुरस्कार ग्रहण गरेसँगै पत्रकार गुरुङले पर्यटन पत्रकारिताप्रतिको आफ्नो जिम्मेवारी अझ बढेको महसुस भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै आगामी दिनमा पनि नेपालको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाको प्रवद्र्धनका लागि तथ्यपरक, जिम्मेवार र प्रभावकारी पत्रकारिता गर्न थप समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रदान गर्ने यो पुरस्कारबाट यसअघि बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली र रोहितराज पराजुली सम्मानित भइसकेका छन् ।