काठमाडौँ। बेलायतवासी गुल्मीहरूले एक क्यान्सर पीडितलाई १५ लाख ९५ हजार ९५० रुपैयाँ सहयोग गरेका छन् ।
गुल्मीको भार्से दबुङ घर भई रुपन्देहीको सालझण्डीमा बसोबास गर्दै आएका क्यान्सरपीडित मुक्ति श्रीस मगरको उपचारका लागि उक्त सहयोग गरिएको हो । उक्त रकमको चेक असार २९ गते (१३ जुलाई) रुपन्देहीको सालझण्डीमा हस्तान्तरण गरिएको हो ।
गुल्मी जिल्ला समाज यूके साथै भार्सेली समाज यूकेका आजीवन सदस्य दुर्गा राना मगर, भार्सेली समाज तराईका अध्यक्ष सुबेदार सोम भुजेल, सदस्य मेला चित्र दगामीको रोहबरमा बिरामीका आमा यककुमारी श्रीस मगरको हातमा चेक हस्तान्तरण गरिएको थियो ।
मगरले गत वर्ष मात्रै दुवै मिर्गौला फेल भएर उपचार गराएका थिए । उनको सफल उपचार भएको थियो । तर अहिले घाँटीको क्यान्सर देखिएपछि उपचारका लागि भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत छन् ।
समाजका अध्यक्ष मञ्जु भण्डारी, महासचिव महलाल घिमिरे र संस्थापक अध्यक्ष एवं टष्ट्री प्रथम नौमती बाजा गुल्मी यूकेका संस्थापक प्रमुख संयोजक ओमप्रसाद थापा काउचाको पहलमा रकम संकलन गरिएको थियो ।
भार्सेली समाज यूकेका अध्यक्ष प्रेम बुढाथोकी, ग्वाघाली समाज यूके, अध्यक्ष देव कवर, एएफसी गुल्मेली थर भाइ यूकेका सहकोषाध्यक्ष तथा बिरामीकी भाउजू मिना श्रीस, संस्थाका सदस्य, आफन्तजन, इस्टमित्र, परोपकारी तथा अन्य महानुभावको सक्रियतामा रकम संकलन गरी बिरामीका श्रीमती पुनम श्रीसको बैंक खातामा रकम जम्मा गरिएको थियो ।
बिरामीका श्रीमती पुनम श्रीस मगरले सहयोगी दाताकै कारण उपचार सम्भव भइरहेको उल्लेख गर्दै सबैप्रति आभार प्रकट गरिन् । ११ महिनाअघि मात्र दुवै मिर्गौला फेल हुँदा उनले श्रीमानलाई आफ्नै एक मिर्गौला दिएकी थिइन् । त्यसबेला उपचारमा घर र सम्पत्ति सकिएकाले अहिले सबैसामु गुहार माग्नुपर्ने अवस्था आएको उनले बताइन् ।
रकम संकलन संयोजक ओमप्रसाद थापा काउचाले विशेष बेलायतवासी गुल्मेली अन्य शुभचिन्तक तथा परोपकारी दातालाई धन्यवाद दिए ।
रकम संकलन अभियानमा गुल्मी जिल्ला समाज युकेले ४ लाख ५७ हजार ९४५, भार्सेली समाज युकेले ४ लाख ११ हजार ५४, ग्वाघाली समाज यूकेबाट २ लाख ९६ हजार १३२, गुल्मेली थरभाई सहकोषाध्यक्ष मिना श्रीसबाट संकलित ४ लाख २६ हजार ६२४ रहेको थियो ।