बेलायत । बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले एल्डरशटमा भूतपूर्व गोर्खा सैनिकहरूमाथि भएको जातीय आक्रमणलाई ‘अत्यन्त लज्जास्पद’ घटनाको संज्ञा दिँदै यसको कडा आलोचना गरेका छन् । संसदको प्रश्नोत्तर सत्रमा उनले गोर्खाहरूको योगदानको उच्च सम्मान गर्दै यस्तो अमानवीय व्यवहारको विरोध गरे।
एल्डरशटका सांसद एलेक्स बेकरले संसदमा जानकारी दिए अनुसार, स्थानीय युद्ध स्मारक नजिकै बसिरहेका वृद्ध गुरखा भूतपूर्व सैनिकहरूमाथि जातीय आक्रमण भएको थियो। आक्रमणकारीहरूले उनीहरूलाई ‘आफ्नो देश फर्क’ भन्दै अपमानजनक शब्दहरू प्रयोग गरेका थिए। सांसद बेकरले यस दुःखद घटनाको सन्दर्भ जोड्दै लामो समयदेखि थाती रहेको गुरखा पेन्सनको समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराइन्। जवाफमा प्रधानमन्त्री स्टार्मरले पेन्सन लगायतका विषयमा सम्बन्धित पक्षहरूसँग रचनात्मक छलफल भइरहेको बताए।
दुई सय वर्षभन्दा बढी समयदेखि बेलायती फौजमा रहेर साहस र निष्ठाका साथ सेवा गर्दै आएका गुरखाहरूलाई सन् २००९ मा बेलायतमा स्थायी बसोबासको कानुनी अधिकार दिइएको थियो।
संसदमा बोल्दै सांसद बेकरले भनिन्:
"देशको सेवा गरिरहेका र गरिसकेका सैनिकहरूप्रति सम्मान व्यक्त गरिरहेको यस हप्तामा, हाम्रो युद्ध स्मारक रहेको पार्कमा वृद्ध गुरखा भूतपूर्व सैनिकहरूमाथि आक्रमण गरियो र उनीहरूलाई 'आफ्नो देश फर्क' भनियो।
के प्रधानमन्त्री र यो सदनले यस घृणित आक्रमणको एक स्वरमा निन्दा गर्दै हाम्रा गोर्खाहरूको वीरता र योगदानको सम्मान गर्नुहुन्छ?
साथै, गोर्खा हरूले हाम्रो देशका लागि अतुलनीय योगदान दिएका छन्। त्यसैले, हामीले लामो समयदेखि उठाउँदै आएको गुरखा पेन्सनको मुद्दा समाधान गर्ने यही उपयुक्त समय हो भन्नेमा प्रधानमन्त्री सहमत हुनुहुन्छ?"
यसको प्रतिउत्तरमा प्रधानमन्त्री स्टार्मरले बताए:
"उहाँले उल्लेख गर्नुभएको जातीय आक्रमण अत्यन्त लज्जास्पद छ। म यसको कडा शब्दमा निन्दा गर्दछु र आशा गर्दछु कि सम्पूर्ण सदनले पनि यसको निन्दा गर्नेछ।
हामी हाम्रा गुरखाहरूसँग दृढतापूर्वक उभिएका छौँ। उनीहरूले हाम्रो सशस्त्र सेनामा अतुलनीय योगदान दिएका छन् र आज पनि दिइरहेका छन्।
गुरखा पेन्सनको विषयमा मन्त्रीहरूले सांसद बेकर, गुरखा भूतपूर्व सैनिकहरू तथा नेपाल सरकारसँग रचनात्मक छलफल गरेका छन्। यी छलफलहरू आगामी दिनमा पनि निरन्तर जारी रहनेछन्।"