फार्नबरो । पञ्चासे हर्पनडाँडा समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम गत जुन २० तारिख स्यामुल कोडी स्कुल हल, फार्नबरोमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा समाजका सदस्य, चेलीबेटी, भान्जाभान्जी तथा ज्वाइँसहित करिब ३०० जनाको सहभागिता थियो । समाजका अध्यक्ष देउकाजी गुरुङको संयोजकत्व तथा कार्यसमितिको सक्रिय भूमिकाका कारण कार्यक्रम सफल र रमाइलो बनेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको उद्घाटन ह.ना.सु. हिरालाल गुरुङ, अध्यक्ष देउकाजी गुरुङ तथा श्रीमती रिलशोभा गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए । त्यसपछि नेपाल, बेलायत र तमु समुदायका राष्ट्रिय गीतहरूको धुन बजाइएको थियो ।
साथै हालै दिवंगत भएका स्वर्गीय इन्द्रकुमारी गुरुङ र स्वर्गीय पञ्जसिंह गुरुङको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उपाध्यक्ष रवि गुरुङले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष कृष्ण घलेले गत वर्षको वार्षिक भेटघाटबाट सुरु गरिएको गाउँको हर्पनकोट माध्यमिक विद्यालय सहयोग अभियानअन्तर्गत हालसम्म १९ लाख २९ हजार रुपैयाँ संकलन भएको जानकारी दिए । अध्यक्ष देउकाजी गुरुङले विद्यालयमा भइरहेको मर्मत कार्यका लागि आफू नेपाल गएर अधिकांश काम सम्पन्न गरी पुनः बेलायत फर्किएको जानकारी गराए ।

उनले पावरपोइन्ट प्रस्तुतिमार्फत विद्यालयमा सम्पन्न तथा बाँकी रहेका कामहरूको प्रगति विवरण सहभागीहरूलाई अवगत गराए । बाँकी काम सम्पन्न गर्न पुनः नेपाल जाने योजना रहेको पनि उनले बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका व्यक्तिहरूलाई सम्मान तथा बधाई प्रदान गरिएको थियो । क्विन मेरी युनिभर्सिटी, लन्डनबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा एमएससी उत्तीर्ण गरेका प्रमिस गुरुङ, सेनामा स्टाफ सार्जेन्ट पदमा पदोन्नति भएका जीवन गुरुङ र शुष्मी गुरुङ, सुनिल गुरुङ र आरती गुरुङ, साथै नवविवाहित जोडी राजु गुरुङ–प्रिय गुरुङ तथा प्रतिक्षा गुरुङ–प्रीतम गुरुङलाई अध्यक्ष देउकाजी गुरुङ र उनकी धर्मपत्नीले फूल र खादा लगाइ सम्मान गरेका थिए ।
नेपालबाट बेलायत भ्रमणमा आएका तिलप्रसाद घले, पूर्णकुमारी घले, कमला गुरुङ, सञ्जीव गुरुङ तथा हिरालाल गुरुङलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।
त्यसैगरी समाजका नयाँ सदस्य जगनकुमारी गुरुङ, मनोज गुरुङ, धनकाजी गुरुङ, पवित्रा घले, जीना घले तथा मेनुका घलेलाई स्वागत गरिएको थियो ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई समाजलाई मिडियामार्फत पुर्याएको अतुलनीय योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो ।

समाजका युवा सदस्य सन्ध्या गुरुङले हालै प्हेल्हु संघ यूकेको आयोजनामा तमुहरूको ऐतिहासिक स्थल क्होला सोथर भ्रमण गरी फर्किएको अनुभव साझा गर्दै युवापुस्तालाई लक्षित छोटो प्रस्तुति दिएकी थिइन् । उनले क्होला सोथरसँग जोडिएको तमु समुदायको इतिहासबारे जानकारी गराएकी थिइन् ।
सांस्कृतिक सचिव खुसीमान गुरुङको निर्देशनमा रुबी गुरुङ, सारङ गुरुङ, नितु गुरुङ, रितु गुरुङ, स्याफ्रोन गुरुङ र सरोन गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
सुन्दर गुरुङ र सुरेश गुरुङले गीत प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । खुसीमान गुरुङको नृत्य प्रस्तुति पनि उपस्थित दर्शकले विशेष रुचाएका थिए ।
राफल टिकट बिक्रीबाट करिब १ हजार पाउन्ड संकलन भएको थियो । टिकट बिक्रीमा गौतम गुरुङ र चिजा गुरुङ सक्रिय रहेका थिए । राफलतर्फ पहिलो पुरस्कारस्वरूप जीना घलेले ३०० पाउन्ड, दोस्रो पुरस्कारस्वरूप दुमबहादुर गुरुङले २०० पाउन्ड, तेस्रो पुरस्कारस्वरूप कमला गुरुङले १०० पाउन्ड प्राप्त गरेकी थिइन् ।

कमला गुरुङले उक्त रकम समाजलाई नै फिर्ता प्रदान गरेकी थिइन् । चौथो पुरस्कारस्वरूप सन्तोष गुरुङले ५० पाउन्ड प्राप्त गरेका थिए । पहिलो पुरस्कार डिलोन्ज रेस्टुरेन्टले तथा चौथो पुरस्कार माया गुरुङले प्रायोजन गरेका थिए । राफल कार्यक्रमको सञ्चालन खुसीमान गुरुङले गरेका थिए ।
समापन मन्तव्यका क्रममा अध्यक्ष देउकाजी गुरुङले कार्यसमिति, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै समाजबाट लिनेभन्दा दिने भावना भएका सदस्यहरूको सक्रियताले समाजलाई बलियो बनाएको बताए । उनले प्रायोजनबाट मात्रै करिब ५ हजार पाउन्ड संकलन हुनु समाजका लागि अत्यन्त सकारात्मक उपलब्धि भएको उल्लेख गरे ।
नेपालबाट बेलायत भ्रमणमा आएका फिर्की तमु समाज पोखराका सचिव तिलप्रसाद घलेले विदेशमा पनि यति आत्मीय र रमाइलो वातावरण अनुभव गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । उनले नेपाल सरकारको मापदण्डअनुसार फिर्की समाजको भवन भत्काइएको जानकारी दिँदै पुनर्निर्माणका लागि आर्थिक सहयोगको अनुरोधसमेत गरे ।
कार्यक्रमभर रिसेप्सन व्यवस्थापनमा कोषाध्यक्ष कृष्ण घले र सहकोषाध्यक्ष देव घले सक्रिय रहेका थिए । भोजन व्यवस्थापनमा रवि गुरुङ तथा पेयपदार्थ व्यवस्थापनमा सुन्दर, किरण, नवीन, शिवलगायत स्वयंसेवकहरूको महत्वपूर्ण योगदान रहेको थियो । दिल गुरुङले कविता तथा चुट्किला प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।

कार्यक्रमको साउन्ड सिस्टम तथा डिजे व्यवस्थापन डीएमटी ब्यान्डका दिनेश गुरुङले गरेका थिए भने बारबेक्यु तथा बफे खानाको व्यवस्थापन डिलोन्ज रेस्टुरेन्ट, एल्डरसटले गरेको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव प्रकाश गुरुङले गरेका थिए भने रितु गुरुङले सहजीकरणमा साथ दिएकी थिइन् ।