पाेखरा । नेपाल मगर सांस्कृतिक संघ, जिल्ला समन्वय समिति कास्कीले म्याग्दीको मगर समुदायमा अत्यन्त प्रचलित मौलिक 'दोरखेली भाका' को सांगीतिक भिडियो सार्वजनिक गरेको छ ।
पोखरामा आयोजित एक भव्य समारोहका बीच सोरथी ख्याली अन्तर्गत पर्ने यस ऐतिहासिक र सांस्कृतिक महत्वको गीतलाई औपचारिक रूपमा विमोचन गरिएको हो । नेपाल मगर सांस्कृतिक संघकी कास्की जिल्ला अध्यक्ष दिलु फगामी मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य तथा मगर चलचित्र ‘उखान’ का निर्माता मेक आले मगरले मगर समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा यस्ता सिर्जनाले मेरुदण्डको काम गर्ने बताए । उनले मौलिक भाकाहरूलाई नयाँ पुस्तासम्म पुर्याउन सांस्कृतिक संघले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । यसैगरी, अध्यक्ष दिलु फगामी मगरले आफ्नो कार्यसमिति, कलाकार र सहयोगीहरूको अथक मिहिनेतले म्याग्दीको पहिचान बोकेको दोरखेली भाकालाई भिडियोमार्फत बाहिर ल्याउन सफल भएको बताए । उनले यस अभियानमा साथ दिने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरे ।
यस गीतको शब्द तथा लय संकलन स्वयं दिलु फगामी मगरले गरेकी हुन् । गीतमा कुमार पुन मगर, रामचन्द्र थापा मगर, दिलु फगामी मगर, विकास फगामी मगर, चिना थापा मगर, ललिता पुन मगर, दिलु श्रीस मगर, रुद्र श्रीस मगर, दुर्गा माया रोका मगर र निरुता थापा मगरले स्वर दिएका छन् । गीतको सुरुमा गाउँको परिचय दिने स्वरांकन हाल पोर्चुगलमा रहेका दिपु फगामी मगरले गरेका छन् । पोखराको बार डिजिटल स्टुडियोमा बुद्ध बज्राचार्यले रेकर्ड गरेको यस गीतलाई राज कुमार बगरले एरेञ्ज र मिक्सिङ्ग गरेका हुन् ।

दृश्य निर्माणतर्फ गोविन्द पुन मगरले निर्देशन गरेको यस भिडियोलाई माधव गुरुङले छायांकन र सगुन तामाङले सम्पादन तथा कलरिङ गरेका छन् । भिडियोमा रेनु रिलामी मगर, रमेश थापा मगर, सिर्जना आले मगर, नन्दा राना मगर, सुप्रिया सारु मगर, सिरिया पुन मगर, रक्षा फगामी मगर, रविना गुरुङ र पुष्पा पुन मगरले जीवन्त अभिनय गरेका छन् । कार्यक्रममा प्राविधिक तर्फ टेक गुरुङ र यातायात व्यवस्थापनमा चक्र पुन मगर तथा धनबहादुर बुढाथोकी मगरले सहयोग गरेका थिए ।

यस सांस्कृतिक परियोजनालाई सफल बनाउन युके, अमेरिका, अष्ट्रेलिया, हङकङ, क्रोएसिया, मलेसिया, स्वीट्जरल्याण्ड, दुबई र जापानमा रहेका विभिन्न सहयोगीहरूले विशेष आर्थिक तथा नैतिक समर्थन जुटाएका छन् । त्यसैगरी, स्थानीय स्तरमा हिमाली आमा समूह, सिर्जना आमा समूह, छहारी आमा समूह, मगर नौमति बाजा समूह, पुख्र्यौली सोरथी समूह, तिनचुले वन उपभोक्ता समूह र म्याग्दीको मंगला-५ किमचौरस्थित प्रगतिशील युवा क्लबले यस कार्यमा ऐक्यवद्धता जनाएका छन् । आफ्नो मौलिकता हराउँदै गइरहेको वर्तमान अवस्थामा यो दोरखेली भाकाले मगर समुदायको सांस्कृतिक साख जोगाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास संघले लिएको छ ।