लन्डन । पूर्वगोर्खा एवं कीर्तिमानी आरोही सैनिक हरि बुढामगरको पुस्तक बजारमा आउने भएको छ । आफ्नो पुस्तक ‘कन्क्वेरिङ ड्रिम्स’ आगामी २७ अगस्टमा मिरर बुक्सले प्रकाशन गर्न लागेको उनले फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनले विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहण पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोहीका रूपमा कीर्तिमान कायम गरेका छन् । बुढामगरले पुस्तकको नाम सगरमाथा आरोहण गर्ने आफ्नो बाल्यकालको सपनाबाट जुराएको जनाएका छन् ।
बाल्यकालदेखि सगरमाथा आरोहण गर्ने सपना बोकेका बुढा मगरले पुस्तकमा आफ्ना अनुभव र संघर्षका कथा समेटेका छन् । पुस्तकमा सगरमाथा तथा ‘सेभेन समिट्स’ यात्राको कथा समेटिएको छ, जसले पाँच विश्व कीर्तिमान समेत स्थापित गरेको छ ।
आरोही बुढा मगरका अनुसार सन् २०२३ मा सगरमाथा आरोहणका लागि गएका ४७८ मध्ये केवल ५२ प्रतिशतले मात्र सफलतापूर्वक शिखर चुम्न सकेका थिए भने १७ जनाले ज्यान गुमाएका थिए। यस्तो जोखिमका बीच पनि प्रत्येक आरोहीको आफ्नै उद्देश्य र प्रेरणा रहेको पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तकले पाठकलाई आफ्ना सपना पछ्याउन, चुनौतीहरू सामना गर्न र जीवनमा उद्देश्य खोज्न प्रेरित गर्ने विश्वास गरिएको छ । साथै, यसले अपाङ्गता भएका व्यक्तिहरूका सम्भावनाबारे विश्वव्यापी सचेतना फैलाउने लक्ष्य पनि राखेको छ ।
उनले पुस्तकमार्फत पहिले कहिल्यै सार्वजनिक नभएको आफ्नो व्यक्तिगत कथा, सोच र उद्देश्य पाठकमाझ प्रस्तुत गरेका छन् ।