हङकङ । हङकङमा आइतबार अल्ट्रा ट्रेल रनिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङको आयोजनामा टाइमोसन कन्ट्री पार्कमा भएको प्रतियोगितामा विभिन्न देशका १७६ जना धावकहरूको सहभागिता थियो।
जसमा ५० किलोमिटर र १२ किलोमिटर गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो । ५० किलोमिटर पुरुषतर्फ हङकङ, चीनका हङ ताम विजेता बने। नेपालका सन्तोष तामाङ दोस्रो र बेलायतका तमी युङ तेस्रो भए ।
महिलातर्फ बेलायतकी हङ क्यु ल्योङ विजेता हुँदा चीनकी पाक ई मङ दोस्रो र भारतकी जुलीयामित लेप्चा भइन् ।
यसैगरी, १२ किलोमिटर पुरुषतर्फ बेलायतका म्याथ्थु क्यारी पहिलो, हङकङका यू जेस्पर याम दोस्रो र फ्रान्सका जर्म डी क्यालेरन्स तेस्रो भए ।
महिलातर्फ हङकङकी सीउ साङ सान लाउ चिन पहिलो, फिलिपिन्सकी इलाने एप्सटोल दोस्रो र हङकङकै जेसी याहु तेस्रो भए । विजयी धावकहरूलाई नगद, ट्रफी र फिनिसर मेडल प्रदान गरिएको थियो ।
दौडको उद्घाटन नेपाली महावाणिज्यदूत डा. विन्देश्वर प्रसाद लेखकले हर्न बजाएर गरेका थिए । हङकङमा नेपाली समुदायबाट अन्तर्राष्ट्रिय स्तरको दौड प्रतियोगिता हुनु खुसीको कुरा भएको उनले बताए ।
कार्यक्रममा किरात याकथुङ चुम्लुङ केलाङ समूहले आफ्नो भाषिक पहिरनमा लिम्बु नृत्य, तामाङ घेदुङले पनि आफ्नै जातीय पहिरनमा सेलो नृत्य तथा अरूणा शर्माले नृत्य प्रस्तुत गरेका थिए ।
संघले विगत दुई वर्षदेखि वातावरण संरक्षण र खेलकुदलाई केन्द्रित गर्दै मासिक पदयात्रा सरसफाइ तथा बालबालिकालाई निःशुल्क दौड तालिम सञ्चालन गर्दै आएको छ ।