पोखरा । गुरुङ चलचित्र नायक गोरे गुरुङको निर्देशनमा रहेको ‘हाम्रो बाचा बन्धन’ चलचित्रको शनिबार पोखरामा विशेष शो गरिएको छ ।
दिल घले र गोरे गुरुङको निर्माण, गोरे गुरुङ कै लेखन, सम्पादन र निर्देशनमा बनेको चलचित्र पोखरास्थित मिडटाउन हलमा प्रदर्शन गरिएको हो । सिक्लेस गैह्रीगाउँस्थित कुर्कु लेम्मै भाइखलकका लागि पोखरामा पहिलो पटक प्रदर्शन गरिएको नायक गुरुङले बताए । प्रदर्शनमा भाइखलकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
चलचित्रमा टेक गुरुङ, किसन गुरुङ, विक्रम रानामगर, मनोज गुरुङ, प्रमिला गुरुङ, लक्ष्मी गुरुङ, सुष्मा गुरुङ, प्रिती गुरुङ, कुबिना गुरुङ, टिकाराम घलेलगायत कलाकारको अभिनय रहेको छ । पुष्कर थापामगर र टेकमानले खिचेको चलचित्रमा कथा र सहायक निर्देशनमा राजेन्द्र अधिकारीले साथ दिएका छन् ।
बाचा बन्धन २ का रुपमा बनाइएको चलचिल समुन्द्री सतहदेखि ३ हजार ४ सय मिटर उचाईंको तप्राङ, क्व्होला, कोरी, भुजुङलगायत क्षेत्रमा छायांकन गरिएको निर्देशक गोरे गुरुङले जानकारी दिए ।
चलचित्र प्रदर्शन हुनुअघि प्रतिनिधि सभाका पूर्व सांसद मनबहादुर गुरुङले चलचित्र समाजको ऐन भएकाले समाजमा भएका राम्रा नराम्रा कुरालाई फिल्ममा समेटिनु पर्ने बताएका थिए । चलचित्र हेरिसकेपछि सकरात्मक विषयलाई सिक्दै जीवनमा प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा चलचित्रको सफलताको कामनासहित भाइखलकले निर्देशक गोरे गुरुङलाई आर्थिक सहयोग पनि गरेको थियो । जसमा कुर्कु लेम्मै भाइखलकबाट १ लाख १ हजार, चेलीबेटीको तर्फबाट १ लाखसहित सम्पूर्ण भाइखलक/चेलीबेटी ज्वाईबाट जम्मा भएको ४ लाख ६९ हजार ७१० रुपैयाँ सहयोग गरेको थियो ।
चलचित्र हेरिसकेपछि डा. हुमबहादुर गुरुङले चलचित्र मौलिक र समसामयिक बनेको प्रतिक्रिया दिए । गुरुङ संस्कार संस्कृति र पुर्खौली पेशालाई समेटर बनाइएको चलचित्रले धेरैको मन जित्नेमा उनी ढुक्क छन् । चलचित्रमा देखाइने सिन, कथा र विषयबस्तुले दर्शकलाई प्रभाव पार्ने उनले बताए ।




