लन्डन । बेलायतवासी गीतकार एवं साहित्यकार एकेन्द्र गुरुङले पोखरामा आयोजना हुने 'धनबहादुर गुरुङ सांगीतिक साँझ'का लागि ५२ हजार रुपैयाँ सहयोग गरेका छन् ।
तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकीको आयोजनामा यही फागुन ८ गते पोखरा रंगशालामा हुने सांगीतिक साँझका लागि समाजसेवी एकेन्द्र गुरुङले ५२ हजार सहयोग गरेका हुन् । पूर्वप्रधानाध्यापक एकेन्द्र तमु धीं यूकेका ट्रस्टीसमेत हुन् ।
कार्यक्रमका संयोजक गोरे गुरुङका अनुसार वरिष्ठ कलाकार गुरुङको सम्मान र ‘तमु कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपाली गीत–संगीत क्षेत्रमा कालजयी, कर्णप्रिय र सन्देशमूलक सिर्जनामार्फत राष्ट्रको कला तथा संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिएका गायक, संगीतकार तथा संगीत संयोजक धनबहादुर गुरुङको उच्च कदर गर्दै यो कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।
सांगीतिक कार्यक्रम सम्पन्न गर्न १७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । साथै कार्यक्रमबाट ११ लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । बचत रकमबाट पवित्र, दीर्घकालीन र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले कल्याणकारी कोष स्थापना गरिने समितिले उल्लेख गरेको छ ।
कार्यक्रमले एक व्यक्तिको सम्मान मात्र नगरी तमु समुदायको मौलिक कला, संस्कृति, भाषा र संगीतको प्रवद्र्धन गर्दै समग्र नेपाली सांगीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने विश्वास आयोजकले विश्वास लिएको छ । संघले यस ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कार्यक्रमको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ ।
२०४५ सालदेखि गुरुङ भाषा मात्र गीत, संगीत र नृत्य गर्दै आएको धनबहादुर गुरुङको पहिलोपटक आफ्नै तमु भाषामा गाइएका गीतहरुको साथमा आफ्नै कर्मथलो पोखरामा घन्किदै छ "धनबहादुर गुरुङ सांगीतिक साँझ" । कार्यक्रम दिउँसो ४ बजेदेखि हुनेछ । टिकट ३०० रुपैयाँ तोकिएको छ ।