लन्डन । कन्सर्टका लागि गायक राजु लामा नेतृत्वको चर्चित नेपाली ब्यान्ड मंगोलियन हर्टको टोली बेलायत आइपुगेको छ ।
यही १३ डिसेम्बर २०२५ मा लन्डनस्थित ह्यारो लेजर सेन्टरमा हुने विशेष सांगीतिक प्रस्तुतिका लागि राजु लामासहित ब्यान्डका सदस्यहरु बिहीबार बिहान लन्डन उत्रिएका हुन् । कलाकारको स्वागतका लागि विमान टर्मिनल ४ मा आयोजक जीटी बास इन्टरटेन्मेन्टका र सहीसर्चका रोज लामा, थमु वाइबा, विशाल मोक्तानलगायत पुगेका थिए ।
गायक लामासहित ८ जना बेलायत आएका छन् । टोलीमा गायक राजु लामा, बबि लामा, सन्तोष थापा, बाबुराजा महर्जन, विनय महर्जन, भूपेन्द्र बज्राचार्यलगायत छन् ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै गायक लामाले १३ तारिखको कार्यक्रमको लागि आफूहरु निकै उत्साहित भइरहेको बताउँदै स्वागतका लागि विमानस्थल पुगेकाहरुलाई धन्यवाद दिए । उनले पहिलेजस्तै बेलायतवासी नेपाली समुदायले मंगोलियन हर्टलाई साथ सहयोग गर्नेमा आश व्यक्त गरे । आफ्नो ब्यान्डका सबै एकपटक पहिलोचोटी बेलायत आएको भन्दै गायक लामाले सबैलाई कार्यक्रममा निम्तो दिएका छन् ।
टिकट किन्न बाँकी भएकाले टिकट किनिदिन पनि उनले आग्रह गरे ।
नेपाल फर्केर मंगोलियन हर्टको कन्सर्ट हेर्न नसक्ने बेलायतवासी नेपालीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ । आयोजकले बेलायतस्थित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कन्सर्टमा सहभागी हुन आग्रह गरेका छन् ।