धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार गरी प्रभावकारी बनाइएको छ । यसले गर्दा धनकुटामा आयुर्वेद उपचार पद्धति लोकप्रिय बन्दै गएको छ ।
आयुर्वेद उपचार पद्धति नयाँ नयाँ प्रविधिका कारण सेवाग्राहीले बिर्सिँदै गएको समयमा धनकुटामा भन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले थप सेवाहरू विस्तार गरी नयाँ नयाँ आयुर्वेद सम्बन्धी उपचार विधि अपनाउन थालेपछि धनकुटाका सेवाग्राहीहरूमा आयुर्वेद उपचार पद्धति लोकप्रिय र प्रभावकारी बन्दै गएको हो ।
दिनप्रतिदिन आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा विभिन्न प्रकारका थप उपचार सेवाहरू विस्तार गरेपछि उपचार गर्न आउनेहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि हुँदै आएको छ । यसले गर्दा धनकुटामा आयुर्वेद उपचार विधि अहिले लोकप्रिय र उपयोगी बन्दै गएको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष विजय सन्तोषी राईले आयुर्वेद उपचार पद्धतिको महत्त्व र आवश्यकता बढ्दै गएकोले जनस्तरसम्म यसबारे जनचेतना जागृत गर्नुपर्नेमा जोड दिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाबाट ओपीडी, प्रयोगशाला, निःशुल्क औषधी वितरण, योग ,पूर्वकर्म/पंचकर्म, सशुल्क फार्मेसी सेवा सञ्चालनमा छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठले आर्थिक वर्ष २०८१/२०८२ मा ७ हजार ७३० जनालाई आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरिएको बताइन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाअन्तर्गत सञ्चालन भइरहेको, सहिदभूमी गाउँपालिकाका छिन्ताङ आयुर्वेद औषधालय पाख्रिबासमा नागरिक आरोग्य सेवा केन्द्र, महालक्ष्मी नगरपालिकाको आरोग्य सेवा केन्द्र, चैबिसे गाउँपालिकाका आरोग्य सेवा केन्द्रमार्फत पनि आयुर्वेद सम्बन्धी सेवा सञ्चालन भइरहेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटा बाट ओपीडी सेवाअन्तर्गत विभिन्न पेट सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, छाला सम्बन्धी रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरी आदिको उपचार गरिँदै आएको छ ।
केन्द्रबाट निःशुल्क औषधी वितरणअन्तर्गत २३ प्रकारका आयुर्वेद औषधीहरू निःशुल्क वितरण गरिँदै आएको छ ।