लोक तथा दोहोरी गायिका कामना ओली अहिले सांगीतिक भ्रमणको क्रममा बेलायतमा छिन् । रोल्पा परिवर्तन गाउँपालिका-५ राङकोट घर भएकी ओली १३ वर्षदेखि काठमाडौँमा बसेर संघर्ष गरिरहेकी छन् । सानैदेखि गाउँमा हुने विभिन्न कार्यक्रममा गाउने उनले काठमाडौँ आएपछि दोहोरी साँझमा गाउन थालिन् । अहिलेसम्म गाइरहेकी छन् । सारंगी पनि मिठो बजाउँछिन् । उनै गायिका ओलीसँग बेलायत बसाइ तथा सांगीतिक करिअरबारे गोर्खा मिडियाका मिलन तमुले हिँड्दा हिँड्दै शृंखलामा गरेको कुराकानी:
बेलायत कहिले आउनुभयो ?
राप्ती समाज यूकेको निमन्त्रणामा जुलाई १८ मा आएको हो ।
पहिलो पटक हो ?
हो।
बेलायत कस्तो लागिरहेको छ ?
नेपाल जस्तै लाग्यो। बोटबिरुवा सबै उस्तै-उस्तै लाग्यो। धेरै नेपालीहरू भएकोले पनि होला । तर विकाशको हिसाबले त आकाश पताल नै फरक रहेछ । नेपाली धेरै भएको ठाउँमा नेपाल जस्तै लाग्छ ।
कार्यक्रम कति पाइराख्नुभएको छ ?
त्यति धेरै त छैन । राम्रै भइरहेको छ। विभिन्न संघसंस्थाले बोलाइरहनुभएको छ।
-1762271053.jpg)
सारंगी बजाउने तपाईंको हबी हो कि के हो ?
सारंगी बच्चैदेखि मनपर्ने चिज हो। म काठमाडौँमा हार्मोनियम सिक्न आएको थिएँ खासमा । तर गुरु खड्ग गन्धर्वले सारंगी बजाएको सुनेपछि मन पर्यो र कोसिस गरेँ। उहाँले केटी मान्छेले पनि सिक्न सकिन्छ । केटा मान्छेले मात्रै बजाउनुपर्छ भन्ने छैन भनेपछि सिकेँ ।
सांगीतिक यात्रा कहिले सुरु भयो ?
१३ वर्ष भयो।
गीत कतिवटा गाउनुभयो ?
गाउन त धेरै गाएँ। लगभग ३०–४० वटाजति गाएँ। तर खासै ती गीतहरूले चर्चा पाएनन् ।
दोहोरी साँझमा गाउनुहुन्छ ?
हो । काठमाडौँको जुनकिरी दोहोरी साँझमा गाउँछु ।
कुन–कुन देशको भ्रमण गर्नुभएको छ ?
पहिले कतार, थाइल्यान्ड, सिंगापुर, मलेसिया गएको छु । अनि अहिले बेलायत ।
सांगीतिक यात्रामा खुसीको क्षण ?
कहिले खुसी भइन्छ । कहिले दुःखी भइन्छ । र दुःख भनेको चलिरहने प्रक्रिया हो। आफूले मिहेनत गरेर निकालेको गीत चलेन भने धेरै दुख लाग्छ। कार्यक्रममा गएर धेरै दर्शकमाझ प्रस्तुति दिन पाइयो भने खुसी लाग्छ ।
यहाँको दर्शकको माया र नेपालको दर्शकको मायामा फरक पाउनुभयो ?
यो विदेश हो। यहाँ नेपालीहरू कम हुनुहुन्छ नेपालकोभन्दा। तर पनि दर्शकको माया धेरै राम्रो पाइरहेको छु । विदेशको माया अलिक गह्रुंगो हुँदो रहेछ ।
कतारको यात्रा कस्तो भएको थियो ?
दाङ देउखुरी सेवा समाजले बोलाउनुभएको थियो। त्यहाँ धेरै पाएकी थिएँ। कार्यक्रम पनि धेरै राम्रो भएको थियो ।
गायन क्षेत्रमा लागेर कतिको सन्तुष्टि छ ?
सन्तुष्टि त कसरी लिने भन्नेमा पनि भर पर्छ। मलाई अहिलेसम्म सन्तुष्टि मिलेको छैन ।
-1762271174.jpg)
यो क्षेत्रमा लाग्दा कसैले नराम्रो भनेका छन् ?
पहिले दोहोरी साँझमा गाउनुलाई राम्रो मानिँदैनथ्यो । अहिले यो सोचाइमा केही परिवर्तन भने भएको छ। काम गर्दै जाँदा गाह्रो अप्ठ्यारो परिरहन्छन् ।
संगीतमा लाग्ने नयाँ पुस्तालाई केही सन्देश छ ?
यो क्षेत्रमा लाग्ने भाइबहिनीहरूले बुझेरै आउनुभएको होला । कति त यत्तिकै रहरै रहरमा पनि आउनुहुन्छ । जस्तो म त्यसैगरी नसिकीकन/नबुझीकन आएकी थिएँ । मलाई सुरुमा काठमाडौँ आएर एउटा एल्बम निकालेपछि त कलाकार भइहालेँ नि भन्ने थियो । तर त्यसरी नहुँदो रहेछ । धेरै दुःख हुन्छ। कतिपय अवस्थामा भोकै बस्नुपर्ने अवस्था पनि आयो । राती काम गर्नेहरूले कोठा पनि हतपत पाइँदैन । घरबेटीले ढोका नखोल्दा बाहिरै बस्नुपरेको अनुभव पनि छ । त्यसैले नयाँलाई चाहिँ अलिअलि बुझेर र सिकेर आउनुहोला भन्न चाहन्छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
खसै केही पनि छैन। नेपाल गएपछि तपाईंहरूमाझ नयाँ गीत ल्याउने योजना छ। त्यसलाई हेरेर कमेन्ट गरिदिनुहोला। मेरो सारंगी बजाउने सीप बेलायत आएपछि राम्रो भएको छ। दर्शकले रुचाउनुभएको छ। त्यसमा पनि कमेन्ट गरिदिनुहोला। यसमा म थप निखार पनि ल्याउने प्रयास गरिरहेकी छु । दोहोरीहरू पनि हेरिदिनुहोला ।