काठमाडौँ । अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरूका लागि सहज बनाएको छ । विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर अब भिजिट भिसामा विदेश जानेलाई कडाइ नगर्ने र चारवटा कागजात बुझाए सहज रूपमा विदेश जान सकिने बताएको हो ।
भिजिट भिसामा विदेश जानेहरूले अब अध्यागमनमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी र सम्बन्धित देशको भिसा देखाउनुपर्नेछ । अन अराइभल भिसा प्राप्त हुने मुलुक भए भिसा देखाउन नपर्ने विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, भिजिट भिसामा विदेश जानेले अध्यागमनमा प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट देखाउनुपर्नेछ ।
आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहनेसमेत ब्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वः घोषणा अध्यागमनमा देखाउनुपर्नेछ ।
“यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राबारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ,” विभागले विज्ञप्तिमा भनेको छ ।
विभागले विज्ञप्तिमा २०८० माघ १० देखि लागु भएको छ बुँदे मापदण्डलगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरिएको जनाएको छ ।
गृह मन्त्रालयका २०८२ कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा चार थरी कागजात पेस गरेमा प्रस्थान अनुमति दिने गरी निर्णय भएको विभागले बताएको छ ।