लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका-४ भुजुङगाउँस्थित उर्गेन टासी छ्योलुङ गुम्बा भत्काएर नयाँ निर्माण गरिने भएको छ ।
गुरुङ समुदायको नेपालकै सबैभन्दा ठूलो गाउँ भुजुङमा २०५५ सालमा निर्मित उक्त गुम्बा जीर्ण अवस्थामा रहेकाले नयाँ निर्माण गर्न लागिएको हो ।
गुरुङ लामा बुद्धिस्ट एसोसिएसनका अध्यक्ष एवं मूल गुरुङ शिर लामा गुरुङले गुम्बाको पुनर्निर्माणमा सघाउन देश तथा विदेशमा रहेका भुजुङवासीसँग अनुरोध गरेका छन् । उक्त गुम्बा गाउँको गहनाका रूपमा रहेकाले गाउँले तथा चेलीबेटी सबैसँग उनले अनुरोध गरेका हुन् ।
अहिलेको गुम्बालाई भत्काएर आगामी फागुनदेखि नयाँ बनाउने कार्य सुरु गर्ने योजना गरेको छ । निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान छ ।

अहिले गुम्बा भएको ठाउँमा आँगन बनाउने र पछाडीपट्टी गुम्बा बनाउने योजना रहेको उनले बताए । किचन रुम, डाइनिङलगायत संरचना पनि बनाइनेछ ।
‘यस गाउँको धार्मिक धरोहरका रूपमा रहेको गुम्बा पुनर्निर्माण गरेर धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । मलाई मूल गुरुको रूपमा निर्माणको जिम्मा दिनुभएको छ,’ उनले भने, ‘पहिले त गाउँको स्थानीय पनि सक्रिय हुनुपर्छ । सबै मिलेर यसमा लाग्नुपर्छ ।’
गुम्बा पुनर्निर्माणका विषयमा बिहीबार गाउँका भलादमीहरूसँग छलफल भएको थियो भने शुक्रबार बिहान गुम्बामा साङपूजा गरेर सबैलाई जानकारी गराइएको थियो ।