लन्डन । तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहयोगमा '१३औं नेपाली मेला' दक्षिण लन्डनमा अवस्थित केम्पटोन पार्क रेसकोर्समा २८ अगस्ट २०२२ मा भव्यरुपमा सम्पन्न भएको छ । झन्डै ७ हजार हाराहारीको सहभागिता रहेको भव्य कार्यक्रम बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्षहरु मे. रि. डमर घले एमबीई, मिनप्रसाद गुरुङ, सुवाससिङ गुरुङ, कमल गुरुङ, सुर्जे (रामचन्द्र) गुरुङ, ज्ञामबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, तमुधिं आमा समूहका अध्यक्ष सीता गुरुङ र गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।
'हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव' नारा राखिएको नेपाली मेला प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ । नेपालको प्रत्येक जातिको भेषभुषा, दैनिक जिवनी, भाषा, कला, संस्कृति आदि झल्किने गरी देखाइने झाँकी र नृत्य हेर्न केम्पटोन पार्क रेसकोर्स खचाखच भरिएको थियो । राजदूत अचार्य, मेलाका प्रमुख संयोजक हरि गुरुङ र अध्यक्ष हित काजी गुरुङले छोटो मन्तव्य राखेका थिए । नेपाल र बेलायतको राष्ट्र गानका धुन बज्दा धेरै जना भावुक बनेको देखिन्थे ।
बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुबाट ३४ वटा झाँकी र १६ वटा नृत्य प्रस्तुत भएका थिए । प्रत्येक प्रस्तुतिहरु आकर्षक र नेपाल झल्काउने खालका थिए । झाँकीहरुमा नेपालको पूर्व, पश्चिम, मध्य पहाडको मूलवासीहरुलाई समेटिने गरी प्रस्तुत गरिएको थियो । मुख्यत: मगर, गुरुङ, राई, लिम्बु, किरात र नेवारहरुको प्रस्तुति रहेको थियो ।
तमुधिंका उपाध्यक्ष जुमकाजी गुरुङले गोर्खा मिडियासँग भने, 'नेपालको बारेमा सिक्न र हेर्न एकै दिनमा मिल्ने ठाउँ नेपाली मेला हो ।'
कार्यक्रममा झन्डै २ सय जना पाहुना बोलाइएको जानकारी मे. रि. कृष्ण गुरुङले बताए । पहिलो पटक भारत, पाकिस्तान र बंगलादेशका फस्ट सेक्रेटरी हाईकमिस्नरहरु पनि उपस्थिति थिए ।
गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, संघसंस्थाका अध्यक्षहरु, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याललगायत पत्रकार, धर्मगुरु खेन रिन्पोचे शीर लामा र अन्य गुरुहरु, काउन्सलरहरुको बाक्लो उपस्थिति थियो ।
नेपालबाट बेलायत भ्रमणमा आएका १० जना विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरु जीवराम भन्डारी, टीकाराम चौलागाई, बिक्रम श्रेष्ठ, निम्स बन्जाडे, दिवाकर ज्ञावली, सन्तोषकुमार देवकोटा, स्वरुप आचर्य, अरुणबहादुर श्रेष्ठ र जेम्श प्रधान पनि उपस्थिति थिए । प्रसिद्ध गायक योगेश्वर आमत्यको पनि उपस्थिति थियो ।
नेपालबाट आएका गायक दिपक लिम्बु र तारा श्रीषको गायनमा बेलायतवासी नेपालीहरु झुमेर नाचेका थिए। झाँकी र नृत्यबाहेक खाना, लत्ताकपडा, मोर्गेजेज, रोजगार, कानुन, किताब, अर्टश्, हवाई टिकट अरु थुप्रै स्टलहरू राखिएका थिए । दिनभरिको प्रस्तुतिपश्चात् बेलुका सात बजेपछि मात्र झाँकी र नृत्यका विजयी समाजहरुको नाम कार्यक्रम उद्घोषक सुर्जे गुरुङले सुनाए ।
१३ औं नेपाली मेलाको ऐम्बेसडर कप घान्द्रुक समाज यूकेले उचाल्यो । नगद १ हजार १ सय पाउन्ड प्रायोजक एलएन पान्डेबाट र ३ सय पाउन्ड एनआरएन बेलायलबाट साथै एनआरएन कप र मेडल प्राप्त भयो । दोस्रो स्थानमा सिक्लेस पार्चे कम्युनिटी यूकेले चित्ता बुझाउनु पर्यो र ७ सय पाउन्ड तमुधिंबाट प्राप्त गर्यो । तेस्रो स्थान ओगट्न तमु समाज यूके सफल भयो । ५ सय पाउन्ड प्रायोजक समीर खनाल एनआरएनए आईसीसीबाट प्राप्त गर्यो ।
त्यस्तै झाँकीतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमशः सिक्लेस पार्चे कम्युनिटी यूके, घान्द्रुक समाज यूके र किरात राई यायोक्खा भए । नगद पुरस्कार ५ सय, ३ सय र २ सय पाउन्ड पाए । नृत्यमा तमु समाज यूके, घान्द्रुक समाज यूके र किरात राई यायोक्खा पहिलो, दोस्रो र तेस्रो स्थान घोषित भए । नगद पुरस्कार ५ सय, ३ सय र २ सय पाउन्ड प्राप्त गरे ।
ग्लोबल आइएमई नेपालले ५ सय, निमा शेर्पा ५ सय, देवान गुरुङ ३ सय, सुला श्रेष्ठ २ सय, अनुग्रह ज्वेलर्स १ तोला सुन, गोर्खा ट्राभल्स र एभरेष्ट लिङ्कबाट एक/एक आइप्याड प्रायोजन भएको थियो ।
एक दिनका लागि दक्षिण लन्डन नेपालमय भएको छ । नेपाली खाना, पहिरन, नाच, झाँकी आदिको प्रस्तुतिले अवश्य पनि विदेशमा रहेका नेपालीलाई एक दिन भए पनि नेपाल पुर्याएको आभाष गराएको महसुस हुन्थ्यो । 'तमुधिंको आयोजनमा भएको कार्यक्रम भए तापनि सम्पूर्ण नेपालीलाई समेटेका छौं । दूतावासको पनि सहयोग छ । त्यसैले यस कार्यक्रमले हामी विदेशमा रहेका नेपालीहरुको भावी सन्ततिलाई अवश्य पनि देश चिनाउने शिक्षा दिएका छौं,' तमुधिं यूकेका अध्यक्ष गुरूङले भने ।
कार्यक्रम संचालन महासचिव परशु गुरुङले गरेका थिए । स्टेजमा उद्घोषण सिर्जना गुरुङ, पुनम गुरुङ, शिवङ्गी गुरुङ, योगेश गुरुङ र सुर्जे गुरुङले पालैपालो गरेका थिए ।