काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले ‘जेनजी’ प्रतिनिधिसँग छलफल गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीका अनुसार बुधबार ‘जेनजी’ का प्रतिनिधिसँग आगामी योजना, आदिवासी जनजातिको अधिकार एवम् संविधानले सुनिश्चित गरेका अधिकार लगायतका विषयमा छलफल भएको छ ।
‘आदिवासी जनजातिको अधिकार, आगामी दिनमा कसरी अगाडि बढ्ने, संविधानमा सुनिश्चित भएका अधिकार खोसिन सक्ने चिन्ता छ । २१ जना आदिवासी जनजाति युवाले सहादत प्राप्त गर्नुभएको छ,’ उनले भने ।
वर्तमान सत्ता समीकरणमा आदिवासी युवाको नेतृत्व समावेश हुन नसकेको उनको भनाइ छ ।
‘अहिलेको सत्ता समीकरण समावेशी छैन । आदिवासी युवा पुस्तालाई बेवास्ता गरियो भने विद्रोह हुन सक्छ । वर्तमान परिवर्तनले आदिवासी जनजातिको अधिकार समावेश गर्नुपर्छ,’ उनले भने ।
बैठकमा महासंघका अध्यक्ष गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, महासचिव दिवस राईलगायत सहभागी थिए ।
यसैगरी, ‘जेनजी’ का तर्फबाट सामना लावती, पेमा वाङ्बो, श्रेया सिङ, अनुरोध घर्तीलगायत प्रतिनिधि रहेका थिए ।