'समुद्रपारिका देशहरूमा आजभन्दा छ दशकअगाडि गोर्खाहरूले भोगेका घटनाहरूमा आधारित उपन्यास' भनेर लेखक स्वयंले छोटोमा आफ्नो भनाइ राख्नुभएको छ । यही छोटो भनाइले पनि यो 'किवाहाङ' लाहुरे समुदायमाथि लेखिएको सामाजिक उपन्यास हो भनी अनुमान लगाउन मद्दत गर्दछ । जसका लेखक राजकुमार राई हुन् ।
यो उपन्यासको पहिलो संकरण २०८१ असार (सन् २०२५, जुलाई ) तिर प्रकाशसन भएको हो । यस पुस्तकलाई साब्लाबुङ्ग पुस्तकालय अभियान काठमाडौँ, नेपालले बजारमा ल्याएको हो । ३२४ पेजको यो किताबको बाहिरी आवरण एकदम सुन्दर र आकर्षक मात्र छैन किताब बोकेर हिंड्न लायकको हल्का कागजबाट बनेको छ ।
लेखकको परिचय : ठेगाना खाँदबारी नगरपालिका-११ हेलुवाबेंसी संखुवासभा २०३३ सालबाट पञ्चायतविरोधी आन्दोलनमा सक्रिय, २०३७ सालबाट राष्ट्र पुकार साप्ताहिक पत्रिकामा २०५० सालसम्म पत्रकारिता । जिल्ला विकास समिति सदस्य । जिल्ला शिक्षा समिति सदस्य जिल्ला रेडक्रस सोसाइटी सदस्य, विभिन्न शैक्षिक संस्थाका व्यवस्थापन समिति अध्यक्ष, सदस्य ।
२०९७ मा हङकङ प्रवेशपछि साहित्यिक अभियान २०११ बाट साब्लाबुङ साहित्यिक पत्रिकाको प्रकाशक/सम्पादक/हङकङ साझा साहित्यिक श्रृंखलाका संस्थापक । साब्लाबुङ पुस्तकालय अभियान अध्यक्ष, विभिन्न जिल्लाका २२ वटा पुस्तकालय नभएको विद्यालयहरूमा पुस्तकालय स्थापना, ७६ लाख मूल्यबराबरको पुस्तक प्रदान ।
मैले चाहिँ, बेलायत रहँदादेखि नै सामाजिक सञ्जालहरूमा दाइलाई देखे पनि नजिकबाट चिनेकी थिइनँ । हङकङ आएपछि, एक दिन अचानक हङकङ साहित्यिक साझा शृङ्खलाको एउटा कार्यक्रममा भेट भयो । त्यस दिन पनि हाम्रो खासै बोलचाल भएन । कारण दाइले मलाई चिन्नु भएको थिएन । म मात्र चिन्थेँ ।
त्यसपछि फेरि दाइ हराउनुभो । दाइको अनुपस्थितिमै हामीले केही शृङ्खलाहरू बितायौँ । साथीहरूबाट थाह भो दाइ नेपाल जानुभएको कुरो । दाइको नेपाल बसाइ हामीजस्तै एक महिनाको होला भन्ने सोचें तर दाइ त किवाहाङलाई जनम दिन मातृभूमि जानुभएको रहेछ । त्यो पछि थाह भयो । कति गौरवको कुरो देशलाई माया गर्नेहरू कृति जन्माउन कामसाम छाडेर देशमा समय बिताउँछन् । हुन त दाइ सब्लाबुङ्ग पुस्तकालयको अभियन्ता पनि हुनुहुन्छ अरु नै कामहरू पनि थिए होलान्।
गत जुलाईमा केही हप्ताको छुट्टीमा बेलायत गएकी थिएँ । मेरो आदत यात्रा छोटो होस् या लामो एउटा पुस्तक झोलामा हुनै पर्छ। पढ्न रुचि हुनेको घरमा यसै किताब थुप्रिन्छन् नै । उही थुप्रोबाट हल्का भएकै कारण 'किवाहाङ' बेलायत यात्राको सहयात्री बन्न पुग्यो। तर, छोटो समयको निम्ति पारिवारिक भेटघाटको निमित्त गएकोले यता मेजमान, उता घुमघाम भेटघाट आदिले गर्दा किवाहाङलाई बेलायतमा धेरै समय दिन सकिनँ । पछि हङकङ आएपछि काम जाने-आउने समयलाई व्यवस्थापन गरेर अलिअलि गर्दै पढी सकेँ ।
लेखनशैली सरल र प्रभावकारी छ । लेखकले ऐतिहासिक तथ्यहरूलाई कल्पनाशील कथासँग मिलाएर पाठकमाझ पेस गरेका छन्, जसले पुस्तकलाई अझ रोचक बनाएको छ । किवाहाङ, हवल्दार बाजेको बुटजुत्ता ओल्टाईपल्टाई हेर्छन् । बुटजुत्ताको सोलमा काँटी राखेको हुँदा साधारण जुत्ताको भन्दा टाढा सुनिने गरी आवाज आएको छ । उनले पहिलोपटक जुत्ता हेरेका होइनन्, जतिपटक हवल्दार बाजे घर आउँछन्, उतिपटक जुत्ता हेर्छन् । गाउँमा यस्तो जुत्ता कसैले लगाउँदैनन् (पृष्ट ७ बाट) । लेखकले बाल मनोविज्ञानलाई यसरी विकास गर्दै लगेर यही गल्लावाल हवल्दार बाजेकै आसपास एक जवान गोर्खा सैनिक उत्पादन गर्छन् र उसैको भोगाई विस्तृत रुपले किताबमा छरेर सिंगो पुस्तकको रुप दिन्छन् । यो पुस्तकबाट एक व्यक्तिले जीवनमा कति लामो कालखण्ड पार गर्नु पर्दोरहेछ ? र कहाँ, कहाँ कस्तो, कस्तो घटनाक्रमहरूसँग सामना गर्दै अघि बढ्नु पर्दो रहेछ भन्ने पनि सरल ढंगले बताएको छ ।
हामी ननलाहुरेहरूले सुन्दै आइरहेको नम्बरी शब्दको अर्थ कति गहिरो र भावनात्मक हुँदोरहेछ भन्ने पनि बताउँछ। ४,५ दशक अघिको गाउँले जीवनशैलीले पुस्तक पढ्न लायक बनेको छ । त्यसबेला गाउँमा हरेक घरका युवक लाहुरे बन्न चाहन्थे । उनीहरूको पहिलो प्राथमिकतामा ब्रिटिस गोर्खा सैनिक र सिंगापुर पुलिस, दोस्रोमा इन्डियन आर्मी, केही पटक कोसिस गर्दा पनि नभए पछि बल्ल नेपाल आर्मी र पुलिसमा जान्थे । त्यसबेला खाडी मुलुक जाने चलन थिएन । त्यसबेला पढाई चाहिन्दैन्थ्यो । हाम्रा बाऊ बाजे अनपढ थिए र पनि लाहुरे भएर विदेशी पैसा ल्याई गाउँ, टोल छिमेक र देशको समेत विकास गरे । उदाहरणमा पोखरा, दमक, उर्लाबारी र धरान आदि सहरहरूलाई लिन सकिन्छ ।
अहिले समय साल बदलियो । पढाईबिना केही गर्न सकिन्न । ब्रिटिस लाहुरे बन्न पनि पढाई नै चाहिने भैसक्यो । जसले गाउँघर र लाहुरे जीवन बुझेको, देखेको या भोगेको छ उसले आफ्नै कथा मानेर खुब मज्जा मान्नेछ । लाहुरे समुदायको कथा नयाँ नभए पनि लेखकको प्रस्तुति नयाँ मान्न सकिन्छ ।
मनमाया बिरानो मुलुक हङकङ पुग्छिन् । हरियो एक्तालाका एकै आकारका लहरै घराहरूमध्ये एक घरमा झोलीतुम्बा बिसौंछन् । घरका करेसामा नदेखेका बिराना फूलहरू फूलि रहेछ्न् ।
मनमाया आफ्ना श्रीमान् किवाहाङलाई बोलाउँदै: 'ए सुन्नुस त, यहाँ त फूल पनि बिरानो नै हुने रहेछ,' भनिछन् । 'सेवा भनेर ढोगभेट गर, चिनजान हुन्छ किवाहाङ आफ्नी श्रीमतीलाई भन्छ। 'तपाईं घरमुली, तपाईं पहिला ढोगभेट गर्नुस् ।' यति भनेर पतिको उत्तर नपर्खी भान्साघरतर्फ हिंडछिन् । भान्सामा नै पानीको कल धारा देख्छिन्, आश्चर्य मान्दै खुसि पनि हुन्छिन्। धारा खोलेर हातले एक अँजुली पानी पिउँछिन्। भालेको डाकमा जोराधराको उकालो पानी खेपेकी मनमायाका निम्त्ति चुलोमा धारा हुनु कल्पनाभन्दा बाहिरको कुरो हो। कोठा र चोटा एक फन्को मारेर आँगनबाट माथितिर हेर्छिन्। ब्यारेकमाथिको भीर ठ्याक्कै आफ्नो गाउँको तारेभीर जस्तै देख्छिन्। सबै बिरानो भएपनि एउटा डाँडा परिचित जस्तो भएकामा सन्तोषको सास फेर्छिन्न। पृष्ठ १५३, बाट साभार यो हरफहरूले त्यसबेलाको पुर्खाहरू कति इमानदार र सोझा थिए भन्ने प्रमाणित गर्नुको साथ साथै उतिकै प्रकृतिप्रमि र देश्भाक्त्ति पनि थिए भन्ने बुझाउँछ।
लाहुरेको श्रीमतीहरू पल्टन पुगेर चुला चौकमै धारा पँधेरा देख्दा आश्चर्य मानेका किस्साहरू त उहिले सुन्दै आइरहेका नै थियौं। मेरो सासुआमाले कलकत्ताबाट पानी जहाजमा पल्टन आउँदा प्लास्टिकमा बान्ता गरेर झ्यालतर्फ़ फाल्दा सिसामा ठोक्किएर बान्ताको छिट्टाले पुरै त्यहाँ बस्ने यात्रीहरूलाई लागेको कथा गर्नु हुन्थ्यो। यहाँ मनमायाको कथा पढ्दा एकपटक फेरि तुम्मा आमाहरूको याद आयो।
हामी जनजाति समुदायले सदियौंदेखि भोग्दै आइरहेको कथालाई लेखकले एकदम सरल ढंगले प्रस्तुत गरेका छन्। ब्रिटिश गोर्खा सैनिकका परिवारले आफ्ना छोरालाई तीन तीन वर्ष धैर्य गरेर कुर्नु चानचुने कुरो थिएन, जुन बेला हाम्रा पुर्खाहरूले जिएका हरेक समय नै अँध्यारो थियो। न टेलिफोन, न सामाजिक संजाल त्यो समय सम्झिंदा मात्र पनि कहाली लाग्छ। त्यस्तो समयको अथवा त्यो बेलाको एक बलियो दस्तावेज हो किवाहाङ उपन्यास। उपन्यासले गोरखा सैनिकहरूले पल्टनमा बिताएका समयको इतिहास, उनीहरूको वीरता, त्याग, र समर्पणको कथा बयान गर्दै उनीहरूको व्यक्तिगत जीवन, परिवारको पीडा, र युद्धभूमिमा उनीहरूको अदम्य साहसको चित्रण गरेको छ। उपन्यासकारले यस उपन्यासद्वारा ऐतिहासिक घटनाहरूको साथै व्यक्तिगत अनुभवहरूलाई समेटेका छन्, जसले पाठकलाई गोरखा सेनाको जीवनको गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ।
मैले किवाहाङ उपन्यास पढिसकेपछि महसुस गरेँ। हामीले हाल बाँचेको यो समय नै ऊ बेलाका पुर्खाहरूले आर्जेका हुन्। मैले धेरै युद्ध साहित्य तथा गोर्खा सैनिकहरूको बारेमा लेखिएका पुस्तकहरू पढेको छु। बेलायतमै स्थापित लेखक रक्ष राई, गणेश राई र नरेश काङ्ग्माङ्ग, केदार संग्केतज्युको उपन्यास ''अफगानी रणमैदान'' आदि पुस्तकहरू पढेको छु। केदारजीको ''अफगानी रणमैदान'' उहाँले अफगानिस्तानमा आफैले भोगेको युद्ध लेखेकोले सारै मन छुने खालको छ। त्यो पुस्तक पढ्दा पाठक आफै युद्ध गर्दैछु अथवा आतंकको छायाँमुनि उभिएको छु जस्तो भान हुन्छ। त्यस्तै नरेश काङ्ग्माङ्गको खुकुरीको ''धारमा एक शब्दावी'' ननआख्यान अन्तर्गत पर्छ तर धेरै जना रियल हिरोहरूको भोगाई संग्कलित छ त्यस पुस्तकमा त्यसैले धेरै ठाउँको युद्धसँग साक्षातकार भइन्छ। मलाई सम्झना भए अनुसार उक्त्त पुस्तकमै होला भिसी राम बहादुरले मलायाको युद्धबाट भिसी प्राप्त गरेको कुरो पनि पढे जस्तो लाग्यो।
पछिल्लो पल्ट प्रकासित मास्टर मित्रसेनको जीवनीमा आधारित पुस्तक ''लाहुरेको रेलीमै'' भर्खरै पढी सकेकी छु। लाहुरेको रेलीमैमा मित्रसेनले भोगेको युद्ध सम्झेर आङ्ग सिरिङ्ग सिरिङ्ग हुन्छ। लाग्छ युद्ध सारै दर्दनाक हुने रैछ तर पनि किन लाहुर गए हाम्रा पुर्खा त्यो बेला ? मनमा सामुद्रिक छाल बनेर उठ्छन् अनेक प्रश्न र फेरि राणाहरूले दुईसय वर्ष अघि अग्रेजहरूसँग गरेका सन्धि याद आउँछ। जुनबेला हाम्रा सोझा साझा पुर्खाहरूलाई मुल्यहीन पशु झैं जबर्जस्ती धनको लालच देखाएर आफ्नै ढिकुटी भरेका थिए।
धेरै वर्ष अघि महान इतिहासकार एस. पी. आसाद्वारा लिखित ''हामीले कसरी प्रजातन्त्र ल्यायौँ'' शिर्षकको मोटो पुस्तक पढेकी थिएँ। उक्त्त उपन्यास ''राजा त्रिभुवन'' को आत्मकथामा आधारित थियो। त्यस उपन्यासको एक भागमा राज त्रिभुवनले भनेको छ '' 'जुद्धशमशेरले वास्ता गरेनन। अग्रेजले दिन चाहेको मुलुक फिर्ता लिएको भए यो देश नेपाल भूपरिबेष्ठितमै सिमित हुँदैनथ्यो। यो कुरो राष्ट्रका लागि ठूलो घात भो।' अग्रेजहरूले भनेका थिए-मुलुक फिर्ता लिन किन डराएको, हामी छौँ माग। ( अङ्ग्रेजहरूको दुरुस्त प्रस्ताब यस्तो रहेछ -हामीहरूले अब भारत छाड्नु पर्छ, महाराजबाट पुर्बिय भाग लिन चाहिबक्सन्छ भने माग पत्र पठाऊ। यो प्रस्ताब द्धितीय विश्वयुद्धमा नेपाली बहादुरहरूले सघाए बापत भारत छोद्नुअघि अग्रेजहरूले सुद्धशमशेरलाई उसकै मुलुक फिर्ता दिन चाहेका रहेछन्। उसबेला पनि ति मुलुकहरू जितेकै रहेछन् बीर पुर्खाहरूले तर हामीलाई इतिहासले हारेको मुलुकहरू भनेर पढाई रहे र हामीले पत्याई रह्यौं।
'किवाहाङ' उपन्यासको कथा पनि उनै राणाकालको सन्धिको उपज हो, उसबेलादेखि बसिआएको लाहुरे समाजको ओरिपरि घुमेको छ। समय अनुसार हाम्रो बाजेहरूको भोगाई भन्दा हल्का फरक भोगाई हाम्रा बाऊ काकाहरूको रह्यो । मेरो बाजेले काका बडाहरूलाई गल्ला गर्दै गर्दा भन्नु हुन्थ्यो। किन डराउँछौ केटा हो ? अब ठुल्ठुला लड़ांई छैनन्, सानातिना त के लड़ांई हो र ? हाइसुख छ भर्ति जावो। किवाहाङको हवल्दार बाजे र मेरो हवल्दार बाजेको सोंच विचार र बोलीचाली पनि उस्तै थियो।
म पनि छोरा भएको भए मेरो बाजेले तँ पनि ठूलो भएर भर्ति जा … भन्नु हुन्थ्यो होला ? सम्झेर एक्लै हाँसे कतिपटक। हङकङको व्यस्त समयलाई ब्यबस्थापन गर्दै मैले पुस्तक धेरै दिन लाएर पढी सकेँ। पढिसकेपछि मलाई आफनै काका बाऊको भोगाई जस्तो लागेर पाठकको रुपमा केही लेख्न मन लाग्यो।
काकाहरू छुट्टी आउँदा हाम्रो घरमा पनि उसैगरि दशैं आउंथ्यो। फुपू दिदिहरू रक्सि र सुँगुर बोकेर आउंथे। हामी नाथे केटा केटीलाई मासु खानु पाउँदा फ़ुरुङ्ग। चेलीहरू फिर्नेखेर किवाहाङ र मनमायाले जस्तै हाम्रो काका र काकीले पनि मखमलको सारी, लुंगी, तास्कुंचिनको चोलो, टाटनको बर्को अनि घर भित्रकालाई सुन दिएर बिदा गर्थे। म अलि पर मूल खम्बामा औंला टोक्दै काका काकीको क्रियाकलाप हेर्थें र सोच्थे म पनि ठूली भएपछी मलाया जान्छु। केटा केटीको जात मलाया भनेको स्वर्ग होला झैं लाग्थ्यो।
पहिलो र दोश्रो बिश्व युद्धपछिको 'किवाहाङ' नाति पुस्ताका लाहुरे हुन्। उनको पालादेखि लड़ाई कम हुँदै गएको देखिन्छ। तर पनि उसले मलेसिया र ब्रुनाईको राजा सुल्तानको रक्षार्थ लडेको युद्ध छोटो समयमको भएपनि बिश्व युद्ध भन्दा कम छैन पुस्तकमा । युरोपका इतिहासहरू पढ्दा यस्तो लाग्छ '' युद्ध '' मा पोखिएका हाम्रा पुर्खाहरूको रगत पसिनाले मलिलो भएको हुनु पर्छ। युद्ध पछि नै युरोप समृद्ध मुलुक बनेको हो। जापानको हिरोसिमा, नागासाकी र युरोप ति दुई ठूला युद्धमा ध्वस्त नभएका भए अहिलेको बर्तमान युरोप बन्ने नै थिएन।
बिनास पछि नै बिकास सम्भब रहेछ भन्ने युद्धहरूले प्रमाणित गरेका छन्। युद्धमा सकारात्मक र नकारात्मक दुवै पक्ष बराबरी हुन्छ हुन त। संसारमा उपनिबेस फैलाउदै हिंड्ने ब्रिटेनलाई पनि पहलो र दोस्रो बिश्व युद्धहरूले घुमिफिरि रुम्जाटार भन्ने उखान झैं आफ्नै देश फर्काइ दियो। त्यसबेला अरु मुलुकलाई उपनिवेस बनाएर राज गरेको कर्मको फल गजबले मिलेको छ। कारण उसले जुन,जुन देशमा त्यो बेला राज गर्यो ति देशका मानिसले हाल बेलायतमा बसोबास गर्न पाउने नियम छ। त्यसैले पनि उनको देशमा संसारका मान्छेले बसोबास गर्छन्। ति मध्ये हामी नेपाली उच्च सम्मानका साथ गोर्खाली भएर बसेका छौँ कारण उहीं हाम्रा बीर पुर्खाहरूको बहादुरीले, नाम सुवाषले हो।
मैले युरोपका उसबेलाका केही युद्धग्रस्त क्षेत्रहरू घुमेकी छु। त्यहाँका इतिहासहरूमा नेपाली पुर्खाहरूको नाम र समाधिहरू देख्दा गर्वले छाती फुल्छ। उसबेला हिटलरसंग युद्ध लड़नेहरूको सन्तान हूँ म। उहीं युद्धबाट बचेको एक थोपा रगत हूँ म भन्ने लाग्छ। तर, इतिहास पढ्दा आत्मा सन्तुष्टि भने मिल्दैन कारण तथ्यांक हेर्दा सहादत प्राप्त गर्ने पुर्खाहरूको नाम आधा मात्र लेखिए झैं लाग्छ। त्यसबेला हिटलरलाई बमकर भित्रै आत्महत्या गर्न मजबुर बनाउने बीर गोर्खाली पुर्खाहरूको पुरा तत्यांक कहीं राखिएको छैन। म दावीका साथ किन पनि भनिरहेकी छु भने मेरो हजुर बुवाको जेठो छोरो कालु सिङ लिम्बु त्यसबेला १८ वर्ष पुगेको हुनाले राणा साशन लागु गरि युद्धमा होमाइएको थियो रे। उहाँले लामो समयसम्म दोस्रो बिश्व युद्ध लागेको थियो रे तर पछि बाजेले आफ्नो छोरोले सहादत प्राप्त भनि धागोले बाँधेको चिट्ठी हातमा थमाइयो रे। दोस्रो बिश्व युद्धले मेरो बाजेको स्वर्बस्व लुटेको हो, बर्माबाट नेपाल फ़र्काइएका दुई छोरी र श्रीमतीले पनि थाईलेन्डको जंगलमा सहादत प्राप्त गरेका रे। बाजे र बडा भिन्दै भिन्दै ठाउँमा खटाइएकोले छोरा कुन ठाउँमा बित्यो भन्ने सम्म बजेलाई थाहा भएन रे। बडाको नाम कहाँ लेखियो समाधि कहाँ छ ? रहस्यमय नै छ।
पहिलो र दोस्रो बिश्व युद्धमा यदि गोर्खालीहरू सामेल नहुनु हो भने हालको युरोपको नक्सा नै हिटलरले परिकल्पना गरे अनुसारको हुने थियो। हिटलरको हार पछिको बर्तमान युरोपमा अहिले पनि हामी गोर्खालीको सन्तान भएर बाँच्न पाउनु सानो गौरबको कुरो होइन। तर पनि अझै कताकता लाग्छ हाम्रा पुर्खाहरूको रगत पसिनाको मूल्य युरोपले चुकाउन सकेको छैन।
पहिलो र दोश्रो बिश्व युद्धले कोरेको इतिहासको फेयेरिस्त जतिको लामो नभए पनि सानातिना युद्ध त भै नै रहेकाछन्। युद्ध आवस्यक जस्तै बनिसक्यो। तर युद्ध किमार्थ राम्रो होइन। किवाहाङहरू त एक प्रतिनिधि पात्र मात्र हुन्। हाम्रो समाजमा हरेक घर-घरबाट एक या दुई जनासम्म लाहुरे छन्। उहिलेदेखि अहिलेसम्म लाहुरे बन्ने चलन हटेको छैन र सायद हट्ने पनि छैन मात्र समय र दौड तरिका बद्लिएको छ। जो बितेर गए ति इतिहास बनेर बाँचीरहेछन्। जो बाँचेका छन् तिनले आफ्ना भोगाई लेखेर अमर बन्दैछन्। उहीं युद्ध सहित्यकको हूलमा 'किवाहाङ' पनि लेफ्ट राइट-लेफ्ट राइट गर्दै आइपुगेको छ। म नाथे पाठकले पढ्ने रमाउने हदै भए बधाई सम्म दिने न हो। उपन्यासकार राज कुमार राईज्युप्रति पल्टने सल्युट साथै उत्तर उत्तर प्रगतिको शुभकामना।
भन्छन् पुस्तकमा देखिएका त्रुटिहरूको खण्डन गर्नु आफ्नो धर्म हो रे, त्यैमार्फत आगामी दिनमा लेखकले सुधार्ने मौका पाउंछन्। तर म एक सिकारुले के त्रुटि देख्नु र ? आफु भलो त जगत भलो भने झैं सबै राम्रो देख्छु। म आफै भलो हो कि खोई ? तै पनि एकाध ठाउँमा मैले थोरै थोरै त्रुटि देखेकी छु। एक ठाउँ मनमायाले पहिलो पटक हङकङमा फेमली बस्दा आफ्नो क्वाटर पछाडी रोपेको ''सिमी'' फेमली नेपाल पुर्याएर आइसकेको वर्षदिन पछि पनि उक्त्त बोटमा ''सिमी'' फलेको देखेर किवाहाङ श्रीमतीको यादमा भावुक बनेको ठाउँमा सिमी नभएर इस्कूस या कुर्सानिको बोट बनाई दिंदा राम्रो होला कि ? किनकि सिमीको औसत आयू त एक पल्ट मात्र हुन्छ अर्को वर्षको लागि रोप्ने सिजन आएपछि फेरी रोप्नु पर्छ। हुन त बाह्रमासे चेप्त्टो बोडी, लिम्बूभाषामा ( खेसेपा ) भनिन्छ चा त्यसको चाहिं बोट एक दुई साल रहन सक्छ। तर, लेखकले त्यो नखुलाएकोमा पाठक झुक्किन सक्छन् ।
अर्को छोरी हान्ग्मायाले हङकङको गोर्खा हाई स्कुलमा कलेज पढेर स्नातक गरेको भन्नु भएको छ तर मैले सुनेअनुसार त गोर्खा हाई स्कुलबाट एसएलसीसम्म मात्र अध्यायन गर्न पाउँथे रे र मेरो काकाको छोरीहरूले पनि एसएलसीपछि नेपाल निस्केर कलेज पढेका थिए । हुन त पछि भयो होला कि कलेज ? तर किवाहाङको समय पुरानो देखाइएकोले अलिक थिएन कि जस्तो लागेको मात्र हो । अरु त ठिकै छ पुस्तकमा प्राविधिक त्रुटि त जसकोमा पनि हुने नै गर्छ । कतै कतै किवाहाङलाई अलि बढी नै कल्पनामा बगाएर पाना थपेको हो कि जस्तो महसुस हुन्छ तर त्यो बेलाको समय नै त्यस्तै थियो । परिवारसँग टाढा रहेर कल्पनाबाहेक गर्न सक्ने पनि केही थिएन । दाइको यो पहिलो संस्करण भएकोले दोस्रो, तेस्रोमा सुधार्न सजिलो होला कि भनेर मात्र भनेको है । अरु त म पाठक मात्र हुँ समीक्षक होइन । त्यसैले सबै राम्रो देखें एञ्जोए गरेँ । कुनै कुनै भागले निक्कै भावुक बनायो, जस्तै किवाहाङको बाबा बितेको ६ महिना भैसक्दा मात्र चिट्ठी पुगेको । र किवाहाङले बिदा पनि नपाएको आदि आदिले ।
आफूले चाहेमा जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि अवसरले पछ्याइरहेको हुन्छ बस, किवाहाङले जस्तो अवसरलाई चिन्नु सक्नु पर्यो । यो पुस्तक एक पटक सबैले पढ्दा राम्रो, पुस्तक ऐतिहासिक र ज्ञानबर्दक छ, संघर्ष के हो र कसरी गर्नु पर्छ भन्ने पाठ सिकिन्छ । सबैले एक पटक पढ्न आग्रह गर्दै बिदा चाहन्छु। जय किवाहाङ ।