अल्डरसट, बेलायत । गोर्खा मिडिया लिमिटेड यूकेले पाँचौँ वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा १४ सेप्टेम्बर २०२५ मा गोर्खा मिडियाले भव्य समारोहबीच वार्षिकोत्सव मनाएको हो ।
प्रबन्ध निर्देशक मिलन तमु गुरुङको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि र नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेने विशेष अतिथिका रुपमा उपस्थित थिए ।
कार्यक्रममा स्वागत मन्तव्य गोर्खा मिडियाका वरिष्ठ सल्लाहकार संस्कृतिविद् तथा गीतकार एकेन्द्र गुरुङले राखेका थिए भने सहसम्पादक प्रकाश गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । उनले नै स्वास्थ्य तथा सुरक्षाबारे संक्षिप्त जानकारी गराएका थिए ।
कार्यक्रम प्रमुख अतिथि दुवाडी,विशेष अतिथि सेने र प्रबन्ध निर्देशक तमुले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा गोर्खा मिडियाले विगतका वर्षझैँ यस वर्ष पनि समाजसेवी, कलाकार, प्रायोजकहरू र कर्मचारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गर्यो । सम्मानित हुनेमा बेलायतमा रहेर गोर्खाहरूको हकअधिकारका लागि लामो समयदेखि संघर्षरत अधिकारकर्मी बीजीडब्लुएसका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपी, समाजसेवी तथा राजनीतिज्ञ काउन्सिलर नीना गुरुङ, समाजसेवी तथा तमु प्ये ल्हु संघ यूकेका संस्थापक उपाध्यक्ष तथा समाजसेवी सोम त्होर्जे तमु, नृत्य निर्देशक एवं प्रशिक्षक कविता घर्ती मगर गुरुङ, गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्स खेलाडी एवं प्रशिक्षक सन्तोष राई, गायिका पवित्र गुरुङ छन् । नृत्य निर्देशक घर्ती गुरुङ र गायिका गुरुङलाई जनही १५ हजारसमेत पुरस्कार दिइएको थियो । कर्मचारीतर्फ सीताराम गुरागाईं २० हजार रुपैयाँ नगदसहित सम्मानित भए ।
सम्मान र पुरस्कृत हुनेहरुलाई प्रमुख अतिथि दुवाडी, विशेष अतिथि सेने,सल्लाहकार गुरुङ, प्रबन्ध निर्देशक तमुले खादा, सम्मानपत्र, मायाको चिनो र नगद प्रदान गरेका थिए । त्यसअघि सम्मानित व्यक्तिहरु र संस्थाको प्रोफाइल भिडियो देखाइएको थियो ।





कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुवाडीले सन्तुलित रूपमा समाचार दिने काम निकै कठिन भएको र त्यो गोर्खा मिडियाले गरिरहेको बताए । समाजलाई शिक्षित बनाउने, नेपाल र डायस्पोरालाई जोड्ने तथा बेलायतमा रहेको नेपाली समुदायका गतिविधिलाई नजिकबाट प्रस्तुत गरेर जिम्मेवार मिडियाको पहिचान बनाएको उनको भनाइ थियो ।
नेपालको भाषा तथा संस्कृतिको संरक्षणमा योगदान दिएकोमा धन्यवाद भन्दै उनले गोर्खा मिडिया पाँचसयौँ वार्षिकोत्सव मनाउने वातावरणा बनोस् भन्दै शुभकामना दिए ।

यस्तै विशेष अतिथि सेनेले गोर्खा मिडियाले विगतको जस्तै सत्य, तथ्य र समाजलाई अगाडि ल्याउन खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै अब आउने चुनौतीलाई पार गर्न सकोस् भन्ने शुभकामना दिइन् । उनले हरेक मानिसले जिम्मेवार भएर सामाजिक सञ्जाललाई चलाउने र समाजलाई सुसूचित गर्नुपर्नेमा जोड दिइन् ।
विदेशमा भए पनि आफूहरूको मन नेपालमै रहेको बताउँदै नेपालमा पहिलो महिला प्रधानमन्त्री बनेकोमा खुसीयालीसमेत बाँडेकी थिइन् । दृढ संकल्प लिएर अगाडि बढेको खण्डमा त्यो हातले जे पनि गर्न सक्छ भन्ने उदाहरण गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु भएको उनको भनाइ थियो।
त्यसअघि स्वागत मन्तव्यका क्रममा सल्लाहकार एकेन्द्र गुरुङले नेपालमा पछिल्लो समयमा विकसित घटनाक्रमको विषम परिस्थितिमा पनि संस्थाको निम्तोलाई स्वीकार गरेर उपस्थित हुने प्रमुख अतिथि दुवाडीसहित सबैलाई स्वागत गरेका थिए । उनले गोर्खा मिडियाले समाचार, विचारमार्फत सुसूचित गर्नुका साथै नेपाललाई विपद परेको हरेक अवस्थामा गोर्खा मिडिया पुगेको उल्लेख गरे । भूकम्पको पीडादायी अवस्थामा होस् या बाढी पहिरोले क्षतविक्षत पारेको अवस्थामा साथै रोगले सताएको नेपालीहरूलाई गोर्खा मिडियाले सहयोग गरिरहेको उनले बताए ।
सम्मानित हुने व्यक्तित्वहरू मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपी, नीना गुरुङ, कविता घर्तीमगर,सन्तोष राई, पवित्रा गुरुङले आफूहरुलाई सम्मान गरेकोमा गोर्खा मिडियाप्रति धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला लिम्बू, पाँचथर समाज यूकेकी अध्यक्ष शान्ति लिम्बू, ब्रिटिस गोर्खा बेलफेयर सोसाइटीका सहकोषाध्यक्ष प्रेम बुढा, नेपालबाट आएकी कलाकार प्रिया गुरुङ, फोटोपत्रकार तेज गुरुङ, डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङलाई प्रमुख अतिथिले मायाको चिनो प्रदान गरेका थिए ।
अन्त्यमा प्रबन्ध निर्देशक तमुले पाहुनाहरूको उपस्थितिले कार्यक्रम सफल भएको महसुस गरेको बताए । समाजसेवामा समर्पित अग्रजसहित विभिन्न कर्म गरेर समाजको उन्नयनमा योगदान पुर्याउने व्यक्तित्वको सम्मान गर्ने कार्यलाई निरन्तरता दिएको तमुले बताए ।
हालै आयोजित पवित्र गुरुङ एकल सांगीतिक साँझ सम्पन्न गर्न विशेष भूमिका निर्वाह गर्ने समाजसेवी सूर्य गुरुङ, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, सहसम्पादक प्रकाश गुरुङ, डीएमटी ब्यान्ड संस्थापक दिनेश गुरुङलाई उनले धन्यवाद दिए ।
प्रबन्ध निर्देशक तमुले उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिएकोमा सबै अतिथिहरूलाई धन्यवाद दिए । सहसम्पादक गुरुङको कार्यक्रम सञ्चालन कौशलताका कारण निर्धारित समय (दिउँसो साढे १ देखि साढे ४ बजे)भित्रै कार्यक्रम समापन भएको थियो । कार्यक्रम चुस्त र दुरुस्त बनाउन वक्ताहरुलाई ३ मिनेटको समय दिइएको थियो ।
कार्यक्रममा गायिका पवित्र गुरुङ र प्रिया गुरुङले 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे' गीत गाएका थिए ।
यसैबीच, कार्यक्रमको प्रारम्भमै गते ३१ अगस्टमा गोर्खा मिडियाले आयोजना गरेको 'अ म्युजिकल सोलो विथ पवित्रा गुरुङ र डीएमटी ब्यान्ड च्यारिटी नाइट'बाट संकलित ४ हजार ९६८ पाउन्ड (९ लाख ५० हजार ५८४ रुपैयाँ)को चेक प्रमुख अतिथि दुवाडी र विशेष अतिथि सेनेले गायिका पवित्र गुरुङलाई हस्तान्तरण गरे ।

गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको हो । सेवानिवृत्त गोर्खा, फोटो पत्रकार तथा समाजसेवी मिलन तमुको एकल स्वामित्वमा 'सूचना र सामाजिक सेवा सँगसँगै' मुख्य सन्देशसहित सुरु गरिएको यो समाचार संस्थाले विभिन्न कठिनाइका बाबजुद अविच्छिन्न यात्रामा अघि बढिरहेको छ ।




