लन्डन । बेलायतमा तमु लम परिवार यूकेको पहिलो भेलाले रामचन्द्र गुरुङको नेतृत्वमा पहिलो कार्यसमिति गठन गरेको छ । अध्यक्ष गुरुङ तमुधीं यूकेका पूर्वअध्यक्षसमेत हुन् ।
अल्डरसटस्थित एम्पायर हलमा १३ सेप्टेम्बर २०२५ मा संस्कृतिविद् तथा गीतकारर एकेन्द्र गुरुङको सभापतित्वमा भएको पहिलो भेला तथा विशेष कार्यक्रमले समिति गठन गरेको हो । अध्यक्ष रामचन्द्र गुरुङ (माछापुच्छ्रे–९), उपाध्यक्षहरू क्याप्टेन सूर्य प्रकाश गुरुङ (याङ्जाकोट), युनिल पूर्णचन्द्र गुरुङ (पसगाउँ), साधुराम गुरुङ (लमजुङ, लामागाउँ), चन्द्रप्रसाद गुरुङ (नजरे), महासचिवमा एसके गुरुङ (ल्वाङ), कोषाध्यक्षमा कमल गुरुङ चयन भएका छन् ।

सदस्यहरूमा दानबहादुर गुरुङ, नन्दबहादुर गुरुङ (राम), प्रकाश गुरुङ (पाख्रिकोट), ठकुरी गुरुङ (माछापुच्छ्रे–१), ओम गुरुङ (तान्चोक), श्रीप्रसाद गुरुङ (नजरे, लम्जुङ) रहेका छन् ।
त्यस्तै, विधान समितिमा सुमलकुमार गुरुङ, एकेन्द्र गुरुङ र टीका गुरुङ चयन भएका निर्वाचन मण्डलले जनाएको छ ।
निर्वाचन मण्डलका अध्यक्ष सुमलकुमार गुरुङ, सदस्यहरु गणेश गुरुङ र टीका गुरुङले निर्वाचन प्रक्रिया सञ्चालन गरेका थिए । उनीहरु सभाध्यक्ष एकेन्द्र गुरुङको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समितिमा चयन गरेको थियो ।
पहिलो चरणमा 'बन्धुत्व, भ्रातृत्व र एकता' भन्ने मूल नाराका साथ तमु लम परिवार यूकेको पहिलो भेला तथा विशेष कार्यक्रम वरिष्ठ सदस्य खेमसिङ गुरुङ र सभाध्यक्ष एकेन्द्र गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर सुरुआत गरेका थिए । त्यसपछि सहिद तथा पितृहरूको सम्झनामा मौनधारण गरिएको थियो ।

स्वागत मन्तव्य तमुधीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङले दिएका थिए भने कार्यक्रमको औचित्यबारे सुमलकुमार गुरुङले प्रकाश पारेका थिए । उक्त अवसरमा क्याप्टेन एकनारायण गुरुङ, लेफ्टिनेन्ट दानबहादुर गुरुङ, मेजर धन गुरुङ, गणेश गुरुङ, मेजर कुमार गुरुङ, कृष्णा गुरुङ, नरबहादुर गुरुङ, हर्कमान गुरुङ, चन्द्रमान गुरुङ र चन्द्रप्रसाद गुरुङले शुभकामना मन्तव्य दिए ।
परिचयात्मक सत्रमा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले आ–आफ्नो संक्षिप्त परिचय दिएका थिए । सहभागीहरूले 'तमु लम परिवार यूकेजस्तो संस्था अति नै आवश्यक रहेको' स्पष्ट पार्दै संस्थाको महत्वमा जोड दिए ।
एसके गुरुङले सञ्चालन गरेको कार्यक्रममा बेलायतमा बसोबास गर्ने लम दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति थियो ।





