काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले बिहीबार दर्ज्यानी चिन्ह लगाएसँगै कार्यभार सम्हालेका छन् । विद्यमान प्रहरी ऐन र नियमावलीको व्यवस्थाअनुसार खापुङले जम्माजम्मी २ महिना ९ दिन प्रहरीको कमान्ड सम्हाल्ने छन् ।
२०५२ भदौ १९ मा प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवा प्रवेश गरेका खापुङ आगामी कात्तिक २६ मा अनिवार्य अवकाशमा जानेछन् । बिहीबार दर्ज्यानी चिह्न चिन्ह लगाएपछि खापुङले आफू जति समय रहे पनि सकेको राम्रो काम गर्ने बताए । ‘म प्रण गर्छु, सकेको राम्रो गर्छु । नराम्रो गर्ने छैन,’ उनले भने ।
इमानदारिता र इच्छाशक्ति भएमा राम्रो काम गर्न लामो समय चाहिँदैन भन्ने उदाहरण बन्ने अवसर खापुङमा छ । आईजीपी भएको केही दिन अनुगमन, निरीक्षण र निर्देशनमा उनको समय बित्नेछ । त्यसपछिको समय भने चाडबाड केन्द्रित सुरक्षा हुनेछ । त्यसकारण नवनियुक्त आईजीपी खापुङको मुख्य जिम्मेवारी भनेकै चाडबाडलाई सुरक्षित बनाउनुपर्ने देखिन्छ ।
दशैं, तिहार, छठलगायतका चाडबाडमा हरेक वर्ष प्रहरीले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्दै आएको छ । यो समयमा विशेषगरी चोरी, लुटपाट, झैझगडा, जुवातास र आर्थिक अपराधको बढोत्तरी हुनेगर्छ । यसैमा केन्द्रित अपराधलाई नियन्त्रण गर्दै सुरक्षित चाडबाड बनाउनुपर्ने मुख्य जिम्मेवारी खापुङको देखिन्छ ।
व्यक्तिभन्दा पनि प्रहरी महानिरीक्षक पद संस्था रहेकाले संस्थालाई सफल बनाउनुपर्ने दायित्व आफ्नो रहेको उनले बताएका छन् ।
खापुङले यो बीचमा प्रहरीकै आन्तरिक शुद्धीकरणमा जोड दिने पनि बताएका छन् । गैरव्यावसायिक प्रहरीविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार कारबाही गरिने उनले बताएका छन् ।