अल्डरसट,बेलायत । उमन सिं (माओत्सेतुङ) गुरुङको लेखन तथा निर्देशनमा बनेको भाषाको गुरुङ चलचित्र 'क्योंई साँ'(तिम्रो याद) बेलायतमा प्रदर्शन हुने भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आइतबार १४ सेप्टेम्बर २०२५ मा चलचित्र 'क्योंई साँ' प्रदर्शन हुन लागेको हो । प्रदर्शन बेलुकी ६ बजेदेखि सुरु हुनेछ ।
गुरुङ संस्कार, संस्कृति अनि प्रेमकथामा आधारित चलचित्र 'क्योंई साँ' सूर्यबहादुर गुरुङ (हङकङ), सुन्दर गुरुङ (हङकङ), अनिल गुरू (नेपाल),अमिर श्रेष्ठ (कतार) र तिलबहादुर गुरुङको संयुक्त लगानीमा निर्माण भएको हो । यो चलचित्र पार्श्व गायिका पवित्र गुरुङको डेब्यू चलचित्र पनि हो ।
'हाम्रो भाषा संस्कार अनि कला संस्कृतिलाई सदैव माया अनि संरक्षण गरौं' भन्ने मूल उद्देश्यले निर्माण गरिएको 'क्योंई साँ' चलचित्र पाईला फिल्मस प्रा.लि.को सातौं प्रस्तुति हो ।
उक्त चलचित्र प्रदर्शनमा सहभागी हुन बेलायतवासी नेपालीहरुलाई स-परिवार र संस्थाहरुलाई समेत आमन्त्रण गरिएको छ । आयोजकले टिकट बुक गर्न समेत अनुरोध गरिएको छ । भिआइपी पास ३० पाउन्ड, नर्मल पास १५ पाउन्ड रहेको छ । टिकटका लागि मनकुमारी गुरुङ, पबित्र गुरुङ, माओत्सेतुङ गुरुङ, हिरामान गुरुङ र मिलन गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
हाल सांगीतिक भ्रमणका लागि बेलायतमा रहेकी पवित्रले चलचित्र प्रदर्शनमा सहभागी हुन अनुरोध गरेकी छन् । 'पाइला फिल्मस् प्रालिको ब्यानरमा आदरणीय मामा माओत्से तुङ गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको गुरुङ संस्कृतिमा आधारित चलचित्र 'क्योंई साँ' (तिम्रो याद) यही १४ सेप्टेम्बरमा एम्पायर हल अल्डरसट यूकेमा प्रदर्शन हुन गैरहेको छ । जसमा मेरो डेब्यू अभिनय रहेको छ,' पवित्रको अनुरोध छ, 'यूकेमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु ।'
चलचित्रको सहनिर्देशन अर्जुन गुरुङले गरेका हुन् । चलचित्रमा पवित्राका अलावा सीतादेवी गुरूङ, मनोज गुरूङ, कृष्टि गुरूङ, सुशन गुरूङ, सूर्यबहादुर गुरूङ, मनदेवी गुरूङ, अस्मिता गुरूङ, गंगा गुरूङ, निशु गुरूङ, जीतबहादुर गुरूङ, नविन गुरूङ, अस्मिर गुरूङ र गणेश गुरूङको अभिनय रहर्को छ ।
चलचित्र सम्पादन प्रविन नेपालीले गरेका छन् । चलचित्रका गीतहरुमा राजबहादुर गुरुङ, उषा गुरुङ, पवित्रा गुरुङ, आशीष रायमाझीको स्वर रहेको छ ।