काठमाडौँ । इन्डोनेसियाको पर्यटकीय शहर बालीमा २५ अगस्टदेखि २९ अगस्टसम्म आयोजित मिस वर्ल्ड टुरिजम २०२५ मा नेपालका दुई प्रतिनिधिले महत्त्वपूर्ण सफलता हासिल गरेका छन् ।
गरिमा गुरुङले मिस वर्ल्ड टुरिजम पपुलरिटी र एलिगेन्सको उपाधि जित्न सफल भएकी छन् । अर्को प्रतिनिधि रेबिका मगरले मिस वर्ल्ड टुरिजम एसिया जितेकी छन्। यसले विश्व मञ्चमा नेपालको सांस्कृतिक गौरव प्रदर्शन गरेको छ ।
मोरङ, बेलबारीकी चेली गरिमा गुरुङले आफ्नो यात्रा मिस ग्रान्ड नेपाल २०२५ मा मिस वर्ल्ड टुरिजम नेपाल २०२५ को विजेताको रूपमा सुरु गर्दे ‘मिस वर्ल्ड टुरिजम २०२५’ मा दुई प्रमुख उपाधि सफलतापूर्वक प्राप्त गरेकी छन्, मिस वर्ल्ड टुरिजम पपुलरिटी २०२५ र मिस वर्ल्ड टुरिजम एलिगेन्स २०२५ ।
उनको बुद्धिमत्ता, हँसिलो स्वभाव, समर्पण, मित्रताभाव, शालीनता, भव्यता र नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताले प्रतिस्पर्धी, निर्णायक मण्डलका सदस्य र विश्वव्यापी दर्शकबाट प्रशंसा कमायो ।
साथै लमजुङकी मगरले मिस वर्ल्ड टुरिजम एसिया २०२५ को उपाधि जित्न सफल भइन् । उनको यात्रा मिस ग्रान्ड नेपाल २०२५ मा मिस ग्रान्ड गण्डकीको रूपमा जितेर सुरु भएको थियो । त्यो सफलतालाई अगाडि बढाउँदै, रेबिकाले बालीमा मिस साउथ एसियाको रूपमा प्रतिस्पर्धा गरिन् र आफ्नो अनुग्रह, बुद्धिमत्ता र संस्कृति र पर्यटनको वकालतले निर्णायक मण्डललाई प्रभावित गरिन् ।
उनको उपलब्धिले उनलाई एसियाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने एक प्रमुख राजदूतको रूपमा स्थापित गर्ने भूमिका खेल्ने छन् । मिस वर्ल्ड टुरिजम २०२५ मा जानुभन्दा पहिले गरिमा र रेबिका दुवैले प्रसिद्ध फेसन कोरियोग्राफर रोजिन शाक्यबाट काठमाडौँमा व्यापक अभिमुखीकरण र ग्रुमिङ प्राप्त गरेका थिए ।
उनको मार्गदर्शनले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।