हङकङ । हङकङमा रहेर समाजसेवा, संस्कृति र समुदायको पहिचान संरक्षणमा सक्रिय लमजुङकी माया गुरुङलाई वर्ष महिला–२०२५ घोषित गरिएको छ ।
गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाह) की अध्यक्षसमेत रहेकी माया विश्व आदिवासी जनजातिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर नेपाली आदिवासी जनजाति महासंघ हङकङबाट सम्मानित भएकी हुन्।
आइतबार याउमा तेईस्थित हेनरीजी लेओङ कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा वर्ष पुरुषको उपाधि भने हेजेन राईलाई प्रदान गरियो । तमू धीं यूकेको निमन्त्रणामा नेपाली मेला २०२५ मा सहभागी माया बेलायत भ्रमणसँगै हाल स्वीट्जरल्याण्ड भ्रमणमा रहेकाले कार्यक्रममा अनुपस्थित रहिन् । राईले भने प्रत्यक्ष रूपमा सम्मान ग्रहण गरे ।
महासंघका अनुसार गुरुङ र राईलाई आदिवासी समुदायको भाषा, लिपि, संस्कार, संस्कृति र पहिचान संरक्षणमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
लमजुङको पसगाउँ माइत भएकी माया करिब दुई दशकदेखि हङकङमा बस्दै आएकी छन् ।व्यवसायीसमेत रहेकी उनले वर्ष महिला उपाधिले थप जिम्मेवारी बोध गराएको बताइन् ।
राई हङकङेली नेपाली समाजमा बौद्धिक र शालीन व्यक्तित्वका रूपमा परिचित छन् । विभिन्न संघ–संस्थाको नेतृत्व गरिसकेका उनले हाल पनि अभिभावक सल्लाहकारको भूमिकामा सक्रिय योगदान दिँदै आएका छन् ।
कार्यक्रममा नेपाल सरकारको आदिवासी जनजाति आयोगका सदस्य शरन राई, राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुती’लगायतको विशेष उपस्थितिमा विभिन्न जातीय सांस्कृतिक नृत्य, पहिरन प्रदर्शन र सांगीतिक प्रस्तुति गरिएको थियो ।