लन्डन । उज्यालो नेपाल अभियानका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अझै व्यवस्थित तरिकाले उज्यालो नेपाल अभियानलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
बेलायत भ्रमण सकेर गत शुक्रबार नेपाल फर्किएका घिसिङले बेलायत, अमेरिकालगायत संसारका विभिन्न मुलुकमा रहेका नेपालीहरुको सल्लाह, सुझावअनुसार अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताएका हुन् । 'अब नेपाल फर्किएपछि, तपाईंहरूले दिएको सुझाव र समर्थनलाई आत्मसात गर्दै हामी अझै व्यवस्थित तरिकाले उज्यालो नेपाल अभियानलाई अघि बढाउनेछौं,'उनले फेसबुकमा सोमबार साँझ लेखेका छन्, 'संसारभरि जहाँ रहेता पनि हामी सबै नेपाली हौँ। यो भ्रमणका क्रममा मैले भूतपूर्व गोर्खा सैनिक लगायत प्रवासी नेपालीका मुद्दा र समस्याबारे नजीकबाट बुझ्ने मौका पाएँ। तपाईंहरुका मागप्रति मेरो सधैं साथ र समर्थन रहने छ।'
घिसिङको स्टाटस् जस्ताको तस्तै


हार्दिक धन्यवाद तथा आभार !
संयुक्त राज्य अमेरिका, बेलायत, बेल्जियम, स्पेन, माल्टा, पोर्तुगल, द नेदरल्यांड्स, लक्जेमवर्ग लगायतका मुलुकहरूको करिब एक महिना लामो भ्रमण सम्पन्न गरी म नेपाल फर्किएको छु। यस यात्राको मुख्य उद्देश्य "उज्यालो नेपाल अभियान" को अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नु, प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष संवाद गर्नु र नेपालकै ऊर्जा क्षेत्रमा भएका उपलब्धि तथा भावी सम्भावनाबारे छलफल गर्नु थियो।
यस अभियानलाई सफल बनाउन विभिन्न देशमा रहेका नेपाली समुदाय, प्राविधिक विज्ञ, वैज्ञानिक, व्यवसायी, विद्यार्थी, अभियन्ता तथा शुभेच्छुकहरूबाट पाएको साथ, समर्थन र प्रेरणाले मलाई अत्यन्तै उत्साहित र उत्प्रेरित गराएको छ। तपाईंहरूको अपार माया, सहयोग, विश्वास र सहभागिताबिना यो अभियान सम्भव हुने थिएन।
न्यूयोर्कमा म लगाएत विभिन्न अभियन्ताहरुलाई 'ग्लोबल हिरो अवार्ड' प्रदान गर्नु हुने हामी नेपाली ग्लोबल, मलाई प्रमुख वक्ताको रूपमा निमण्त्रणा दिनु हुने अमेरिकन सोसाईटी अफ नेपालिज ईन्जिनियर्स एसोसिएसन, मलाई ऐतिहासिक नेपाली मेलामा विशेष अतिथिको रुपमा निम्तो गर्नु हुने तमुधिं युके, एनआरएनए युके, नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका तथा विभन्न संघसंस्थाहरू, बोस्टन नेपाली समाज, नेपाली समाज भर्जिनिया, वाल्टीमोर नेपाली एसोसियसन, युनाइटेड नेप्लिज असोसिएसन टेक्सास, ग्रेटर अस्टिन च्याम्बर अफ कमर्श, नेपाली व्यवसायी संघ बेल्जियम, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगल लगाएत आवध्द संघसंस्थाहरू
एनआरएनए कोष्टाव्लाङ्का, नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए माल्टा, तामाङ समाज माल्टा, एनआरएनए नेदरल्याण्ड्स, एनआरएनए लक्जेम्वर्ग, एनआरएनए स्कटल्याण्ड, मलाई आफ्नो अनुभव शेयर गर्न अवसर दिने सोने युके लगायत मलाई नागरिक अभिनन्दन तथा सम्मान गर्नु हुने सम्पूर्ण संघ संस्थाहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। यसै गरी हार्वर्ड, एमआइटी लगायत संसारका प्रसिद्ध विश्वविद्यालयहरुमा कार्यरत नेपाली वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थी साथीहरुको सुझाव र सल्लाहलाई मैले मार्गदर्शनको रुपमा लिएको छु।
आफ्नो व्यस्त समयका बावजुद प्रत्येक कार्यक्रममा उपस्थित भएर प्रश्न, सुझाव र अन्तरक्रियाका सम्पूर्ण सहभागी मित्रहरुप्रति पनि म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। तपाईंहरूकै साथले "उज्यालो नेपाल अभियान" केवल नेपालभित्र सीमित नभई विश्वव्यापी नेपाली अभियान बनेको छ।
यस यात्रामा सहयोग पुर्याउनु हुने नेपाली राजदूतावास, महावाणिज्य दूतावास, विभिन्न संघसंस्था, प्रवासी नेपाली संगठन तथा स्थानीय सहयोगी एवं समन्वयकर्ता मित्रहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईंहरूको अथक परिश्रमले प्रत्येक भेटघाट र कार्यक्रमलाई अर्थपूर्ण र सफल बनायो।
अब नेपाल फर्किएपछि, तपाईंहरूले दिएको सुझाव र समर्थनलाई आत्मसात गर्दै हामी अझै व्यवस्थित तरिकाले उज्यालो नेपाल अभियानलाई अघि बढाउनेछौं। संसारभरि जहाँ रहेता पनि हामी सबै नेपाली हौँ। यो भ्रमणका क्रममा मैले भूतपूर्व गोर्खा सैनिक लगायत प्रवासी नेपालीका मुद्दा र समस्याबारे नजीकबाट बुझ्ने मौका पाएँ। तपाईंहरुका मागप्रति मेरो सधैं साथ र समर्थन रहने छ।
नेपाली समाजको समृद्ध भविष्य हाम्रो साझा सपना हो। यो यात्रालाई सार्थक बनाउन हातेमालो गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, साथीभाइ, र शुभेच्छुकहरूलाई पुनः हार्दिक धन्यवाद। तपाईंहरूको माया, विश्वास र साथ नै मेरो प्रेरणाको स्रोत हो । "उज्यालो नेपाल" हाम्रो साझा सपना हो। यसलाई साकार पार्न तपाईं हरु सबैको साथ सहयोग र आशिर्वाद आगामी दिनमा पनि प्राप्त रहने छ भन्ने हामीले विश्वास लिएका छौं। धन्यवाद।