लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र नेपाल भूतपूर्व सैनिक संघकी विभागीय प्रमुख तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुबीच भेटवार्ता भएको छ। भेट २६ अगस्टमा लन्डनस्थित नेपाली दूतावासमा भएको हो।
भेटमा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाल जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ (बीजीनेसा) यूकेको अध्यक्ष केशबहादुर गुरुङ, उनको कार्य समिति र सल्लाहकारको पनि सहभागिता थियो ।

बीजीनेसाका अध्यक्ष केशबहादुर गुरुङले संस्थाले गरेको अनुसन्धानबारे जानकारी दिँदै गोर्खा पेन्सन स्किम र ब्रिटिस सेनाको Armed Forces Pension Scheme 1975 बीच असमानता रहेको बताए । उनका अनुसार १५ देखि २२ वर्ष सेवा गरेका भूतपूर्व गोर्खालाई सेवाअनुसार र २२ वर्षभन्दा बढी सेवा गरेका गोर्खालाई ब्रिटिस सैनिक सरह बराबरको पेन्सन दिनुपर्ने तथ्य अनुसन्धानमा देखिएको छ ।
जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले पेन्सन मुद्दा जटिल भएकाले नेपाल र बेलायतबीचको सम्बन्धलाई ध्यानमा राखी दुवै पक्षलाई फाइदा हुने गरी समस्याको छिटो समाधानमा जोड दिए । संघका अध्यक्ष गर्जबहादुर गुरुङले अतीतमा गोर्खाहरूले बेहोरेको असमानता र उपचार खर्चमा देखिएको भिन्नतालाई स्मरण गर्दै भूतपूर्व गोर्खालाई पनि ब्रिटिस समकक्षी सरह सुविधा दिनुपर्ने धारणा राखे ।

विभागीय प्रमुख महेन्द्रकुमारी लिम्बुले आफ्नो पारिवारिक पृष्ठभूमिबारे स्मरण गर्दै गोर्खा मुद्दामा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उहाँले नेपाल फर्केपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा, पार्टी सभापति शेरबहादुर देउवा र आवश्यक परेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर समेत यसबारे जानकारी गराउने बताइन् ।
राजदूत घिमिरेले दूतावासले बेलायतका विभिन्न राजनीतिक नेतृत्व र राजासँग भेटमा भूतपूर्व गोर्खाको मुद्दा उठाउँदै आएको बताए । यो समस्या बेलायतको रक्षा मन्त्रालयमार्फत मात्र समाधान सम्भव हुने प्रस्ट पार्दै उनले हाल त्यहाँ वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको बताए ।
बीजीनेसाले तयार पारेको अनुसन्धान प्रतिवेदन लिम्बुले राजदूत घिमिरेलाई हस्तान्तरण गरेकी थिइन् ।