लन्डन । परिवारिक भ्रमणका लागि बेलायत आएका गण्डकी प्रदेशका पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम)लाई ताङतिङ समाज यूकेले स्वागत गरेको छ ।
प्रदेश पूर्वकृषि, उर्जा तथा जलस्रोतमन्त्री एवं ताङतिङ गाउँको सान गुरुङलाई आफ्नै गाउँले समाजले २७ अगस्टमा ताङतिङकेहरूको बाक्लो बस्ती रहेको इसेक्स साफ्रोन वाल्डनस्थित प्रसिद्ध अवार्ड विनीङ द मुगल रेस्टुरेन्टमा भव्य स्वागत गरेको हो ।
उनीसँगै भ्रमणमा रहेका मादी गाउँपालिका-२ ताङतिङका संस्थापक वडाध्यक्ष एकाजङ गुरुङ, ताङतिङ समाज यूकेको पूर्वमहासचिव दुर्गा गुरुङ श्रीमान् श्रीमती, ताङतिङको हिमालय मिलन माविका पूर्वशिक्षक तथा पैंडी जसबहादुर गुरुङ, ताङतिङ समाज काठमाडौँका सक्रिय सदस्य पर्यटन व्यवसायी कुमानसिंह (गणेश) गुरुङको श्रीमान् श्रीमती, नायिका तथा गायिका सबिना गुरुङ, प्रथम नेपाल स्टार विजेता गायिका एलिना गुरुङलाई पनि स्वागत गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री गुरुङले गाउँलेसँग भेटन पाउँदा खुशी लागेको र यूकेवासी गाउँलेको साथ र सहयोगका लागि धन्यवाद दिए । ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजंग गुरुङले यूके घुम्न आएका अन्य गाउँलेलाई स्वागत गर्न पाएकामा खुशी व्यक्त गरे । उनले गुरुङको राजनीतिक तथा व्यक्तिगत जीवनको उत्तरोत्तर प्रगतिको कामनासमेत गरे ।
उपस्थित पाहुनालाई समाजको संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीईले औपचारिक स्वागत गरेका थिए । अध्यक्ष स्वयंले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा ताङतिङ समाज यूकेका भुपु अध्यक्ष तथा बीजीनेसा यूकेका अध्यक्ष केश बहादुर गुरुङ तथा निवर्तमान अध्यक्ष भुपु उपमेयर काउन्सिलर लक्ष्य गुरुङलगायत साफ्रोन वाल्डन वरपरका गाउँले र अन्य गाउँलेको उपस्थिति थियो ।