लन्डन । बेलायतमा म्युजिकल सोलो विथ पवित्र गुरुङ एन्ड डीएमटी ब्यान्ड च्यारिटी नाइट भव्य रूपमा सम्पन्न भएको छ ।
गोर्खा मिडियाको आयोजनामा मिचेटस्थित तमु धीं भवनमा ३१ अगस्टमा भएको कार्यक्रममा दर्शकको उपस्थितिले हल खचाखच भरिएको थियो ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङ र सहसम्पादक प्रकाश गुरुङले कार्यक्रमको अगुवाइ र नेतृत्व गरेका थिए । च्यारिटीबाट हालसम्म ८ लाख रूपैयाँ संकलन भइसकेको छ । रकम संकलन हुने क्रम जारी नै रहेको छ ।

सबु गर्बुजा पुनले हेल्थ एन्ड सेफ्टीको जानकारी दिएका थिए । डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङले बाँसुरी र सारंगी, मीनबहादुर गुरुङले मादल, रेसम पाचे मगरले तबेला र ढोलक, कुमार गुरुङले किबोर्ड, सोनाहङ राईले हार्मोनियम र भोकल, सुशील गुरुङले लिड गितार, सन्तोष राईले रिदम गितार बजाएका थिए ।
राना साउन्ड टेक्निसियन र ओम लामाले भिडियो टेक्निसयनको अभिभारा निभाएका थिए । सम्भवतः बेलायतमा गीत गाउन आएका कलाकारबाट कलाकारकै स्कुलको लागि च्यारिटी कार्यक्रम गरेको यो पहिलो पटक हो ।

कार्यक्रम सञ्चालनका क्रममा सन्ध्या गुरुङ, सबु गर्बुजा पुन, रोशनी गुरुङ, सरिना घले गुरुङ, बिबिसा पैगीलामा गुरुङ, गरीमा गुरुङ र संगीना गुरुङले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।
उनीहरूलाई तमु धींका अध्यक्ष जुमकाजी गुरुङ र आयोजक मिलन तमुले मायाको चिनो, सर्टिफिकेट र खादा लगाएर धन्यवाद दिएका थिए ।

नेपालको राष्ट्रिय गीत लाइभ ब्यान्डसँग गाउँदै बेलुका सात बजे कार्यक्रम सुरुआत भएको थियो । उक्त कार्यक्रम तोकिएको समयमै सुरु र अन्त गर्न सफल भएकोमा दर्शकले आयोजक गोर्खा मिडियाप्रति आभार व्यक्त गरेका थिए ।
चर्चित गायिका पवित्र गुरुङले १३ वटा कालजयी र तीन वटा आधुनिक गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पार्न सफल भएकी थिइन् ।
पवित्रको परिचय समेटिएको छोटो भिडियोसमेत देखाइएको थियो । उनी पढेको गोल्फु भन्ज्याङ सेकेन्डरी स्कुलको पनि भिडियो देखाइएको थियो ।

पवित्रलाई सरप्राइजका लागि उनका म्युजिक टिचर चन्दन कुमार श्रेष्ठको शुभकामना भिडियो देखाएको थियो । त्यो दृश्य देख्दा पवित्रले हर्षको आँसु झारेकी थिइन् । सधैँ बहिनीको संगितीक क्षेत्रमा साथ सहयोग दिइरहने दिदी गरीमा गुरुङ पनि उनीसँगै भावुक भएको दृश्य देखियो । त्यो समय हलमा सन्नाटा नै छाएको थियो । कार्यक्रम सञ्चालक प्रकाश गुरुङले गुरु चन्दन कुमार श्रेष्ठलाई सम्पर्क गरी उक्त भिडियो बनाएका थिए ।

प्राय गीतसंगीतमा चासो राख्ने र परोपकारी भावना भएकाको बाक्लो उपस्थिति रहेको थियो । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, ब्रिटिस गोर्खा वेलफेयर सोसाईटीका अध्यक्ष मे.रि. टिकेन्द्र दल देवान जेपी, ग्रेटर रशमोर नेपाली कम्यनिटीका अध्यक्ष लिला सेलाङ माबो, लमजुङ समाज युकेका अध्यक्ष पूर्णराज गुरुङ कार्यक्रममा उपस्थित थिए ।
यसैगरी, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, गुरुङ समाज केन्टका अध्यक्ष गोलमान गुरुङ, पञ्चासे हर्पनडाँडा समाज यूकेका अध्यक्ष देउकाजी गुरुङ, इलाम पोखरी समाज यूके अध्यक्ष परशुराम गुरुङ, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङ गरी ४६ वटा समाजका उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्षको बाक्लो उपस्थिति रहेको थियो ।

पत्रकार आश गुरुङ, दुत बहादुर पुन, एसके गुरुङलगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम सफल बनाउन सुरुबटै तमु धीं यूकेका अध्यक्ष गुरुङ, गोर्खा प्यालेस रेस्टुरेन्टका एमडी सूर्य गुरुङ, डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङले साथ र सहयोग गरेका थिए ।
गोर्खा प्यालेसले खाना सुपथ मूल्यमा बन्दोबस्त गरेको थियो । बियर र अन्य पेय पदार्थ एभरेस्ट होलसेलका एमडी एबी गुरुङले निः शुल्क उपलब्ध गराएका थिए ।

तमु धीं यूकेले हल निः शुल्कमा दिएका थिए । अध्यक्ष गुरुङले छोटो वक्तव्यमा कार्यक्रम सफलताको कामना दिँदै सबैलाई साथ सहयोगका लागि आव्हान गरेका थिए ।
