ललितपुर । सिन्धुपाल्चोककी गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन् । आइतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन् । विजेता सोनामले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौ भए । विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे । “नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँनयाँ प्रतियोगिताहरु सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रुपमा रहनेछ”, उनले भने ।
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे । एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले छ वटा सिजनसम्म पुग्दा नयाँनयाँ प्रतिभाहरुको जन्म भएको उल्लेख गरे ।
समारोहमा पूर्वमन्त्री शेरबहादुर तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यलगायतको उपस्थिति थियो ।
२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा थिए । ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुती मिनल मानन्धर, तेस्रो प्रस्तुती गङ्गा सोनाम, चौथो प्रस्तुती दर्शना गान्धारी र पाँचौँ प्रस्तुती अभिनय खातीले प्रस्तुत गरेका थिए ।