लन्डन । नायक तथा निर्देशक प्रितम गुरुङको ५० औं फिल्म 'मुख्या'को बेलायतमा रेड कार्पेट प्रिमियर शो भएको छ ।
अल्डरसटमा ११ जुलाई २०२५ को दिउँसो ३ बजेपछि चलचित्र प्रदर्शन भएको हो । चलचित्रकर्मी प्रितमले बेलायतवासी दर्शकले प्रिमियर भव्य बनाइदिएकोमा आफू भावुक बन्न पुगेको प्रतिक्रिया जनाएका छन् । 'बेलायतवासी, मेरो ५० औं फिल्म मुख्या, रेड कार्पेट प्रिमियर यति भव्य बनाइदिनु भयो कि शब्दमा बयान गर्न सकिनँ । भावुक बने अनि प्रितमलाई सबैको प्रियतमको पगरी गुथाएर थप ऊर्जा प्रदान गरिदिनुभयो,' उनले भनेका छन्, 'मेरो परिवार, मेरो समुदाय- म बाँचिरहने आधार हो । फेरि पनि मनैबाट कृतज्ञता प्रकट गर्दछु ।'
चलचित्र प्रदर्शनको संयोजन समाजसेवी तथा तमुधीं यूकेका सल्लाहकार ओमेन्द्र गुरुङले गरेका थिए । प्रितमलाई बेलायत भित्र्याउन विभिन्न ढंगले सहयोग गर्ने संस्था तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ शो को प्रमुख अतिथि थिए । सूर्य गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरे । प्रमुख अतिथि जुमकाजी गुरुङले मन्तव्य राख्ने क्रममा प्रितमको फिल्म यात्राबारे चर्चा गरेका थिए ।

प्रदर्शनमा चलचित्रकर्मी, साहित्यकार, समाजसेवी, विभिन्न संघ संस्थामा आबद्धहरुको बाक्लो उपस्थिति थियो । दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । उनीहरुले चलचित्रमा टीकाराम घले र रिया गुरुङको अभिनय भने खुब रुचाए ।
चलचित्र प्रदर्शनको अफिसियल मिडियाका रुपमा गोर्खा मिडिया डटकमले कभर गरेको थियो ।
दर्शकको चाहनाअनुसार चलचित्र मुख्या १३ जुलाईमा रिडिङ र १९ जुलाईमा स्कटल्यान्डमा प्रदर्शन हुँदैछ । मुख्या फिल्म, पारिवारिक कथामा बनेको सामाजिक चलचित्र हो । प्रितम गुरुङको लेखन, निर्माण, निर्देशनमा बनेको फिल्ममा टिकाराम घले, बिस्नु गुरुङ, रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
गणेश गुरुङको गीत, दीपक गुरुङको संगीतमा पबित्र गुरुङ, दीपक गुरुङको स्वर रहेको छ । प्रितम चलचित्र प्रदर्शनका लागि ३ जुलाई राति बेलायत आएका हुन् ।









