पोखरा । गण्डकी प्रदेश सभाबाट गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछी बुधबार पोखरामा खुसीयाली मनाइएको छ ।
तमु धिं नेपाल, नेपाल पुन मगर समाज केन्द्रीय समिति, तमु प्ये ल्हु संघ, नेपाल मगर संघ कास्की र बौद्ध अर्घौं सदनले संयुक्त रूपमा लखनचोक र तमु ह्युल चोकमा कार्यक्रम गरी खुशीयाली मनाएका हुन् । उनीहरुले बधाई, धन्यवाद, दिप प्रज्वलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरे ।

लखनचोकमा आयोजित कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल पुन मगर समाज केन्द्रीय अध्यक्ष खेम पुन मगर, तमु प्ये संघ केन्द्रीय अध्यक्ष ओम बहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका महासचिव सुजन लामा, नेपाल मगर संघ कास्की अध्यक्ष राम थापा मगर, तमु धिं नेपालका कृष्ण कुमार गुरुङ र मगर संघका क्याप्टेन भक्तबहादुर पुन मगरले विधेयक पारित गरेको प्रदेश सरकार, प्रदेश सभा, दलका नेताहरु, माननीयहरु, सम्पूर्ण संघ संस्थालाई धन्यवाद व्यक्त गर्दै व्यवहारमा कार्यान्वयन गर्न माग गरेका थिए ।
दीप प्रज्वलन, साँस्कृतिक कार्यक्रमसहित तमु ह्युल चोकमा आयोजित कार्यक्रममा तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङ, आमा समिति अध्यक्ष पवित्र देवी गुरुङ, युवा समिति अध्यक्ष रमेश गुरुङ, नेपाल मगर संघ उपमहासचिव खेम पुन मगर, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, क्होला सोंथर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष लक्ष्मण गुरुङले सबैलाई बधाई र धन्यवाद दिएका थिए ।

