काठमाडौँ । पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरबाट आइतबार बिहानै सबैलाई स्तब्ध पार्ने खबर फैलियो । खबर थियो, ‘एकै परिवारका ४ जनाको हत्या ।’
जहाँ एक युवकले परिवारका ४ जनाको हत्या गरेका थिए र आफै प्रहरीलाई खबर गरेका थिए । उनले प्रहरीलाई फोनमा भनेका थिए, ‘चार जनालाई छुरी हानेर आएको छु। अब त मरिसक्यो होला । मेरो ज्यान पनि खतरामा छ ।’
यो घटना थियो, रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीको । सदरमुकामबाट घटनास्थलमा पुग्न कम्तीमा ६ घण्टा लाग्छ । प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट टोली खटिएको थियो ।
प्रहरी पुगेपछि थाहा भयो, भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति ससुरालीमै हत्या गरेका रहेछन् । अनि प्रहरीलाई फोन गरेका रहेछन् । राजेन्द्रले नै छुरा प्रहार गरेर चारै जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
राजेन्द्र पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए । उनलाई जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरान पठाइयो । प्रहरीका अनुसार मनिषा र राजेन्द्रबीच नौ महिना अगाडी प्रेम बिवाह भएको थियो । झगडा भएपछि केही समयदेखि मनिषा माइतमै बस्दै आएकी थिइन् ।
राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएको पाइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार राजेन्द्रले ससुराली परिवारलाई मार्छु भन्दै धम्क्याउँदै हिँड्ने गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।