पोखरा । तमु धीं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ चयन भएका छन् । शनिवार स्याङ्जा उद्योग वाणिज्य संघको हलमा भएको भेलाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आइबहादुर गुरुङ, सचिवमा सुबेदार जितबहादुर गुरुङ, सहसचिवमा ममता गुरुङ र कोषाध्यक्षमा खेमबहादुर गुरुङ चयन भएका छन् । सदस्यमा रबिना, मनोज, सुकबहादुर, क्षेत्रबहादुर, मदन, बीरबहादुर, भुवनसिं, शान्ता, डमप्रसाद र लिला गुरुङ छन् ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको शपथ गराएका थिए । विभिन्न तमु संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिले नवनिर्वाचित समितिलाई टीका, फेटा र खादा लगाएर बधाई ज्ञापन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष गुरुङले गुरुङ एकता, पहिचान संरक्षण र सामुदायिक अधिकारका लागि सक्रिय रहने प्रतिबद्धता जनाए । भेलाको उद्घाटन गर्दै तमु धीं नेपालका अध्यक्ष गुरुङले तमु समुदायको अधिकार सुनिश्चित गर्न संगठन सुदृढ गर्न आवश्यक रहेको बताए ।
भेलामा विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।