लन्डन । गोर्खा समुदायका नवयुवा दाजुभाइ अमृत थापा र सोम थापाले फार्नबोरोस्थित गोर्खा भवनमा इजी फार्मेसी (EG Pharmacy) सञ्चालनमा ल्याएका छन् ।
उक्त अनलाइन फार्मेसीको आइतबार २२ जून २०२५ मा एक समारोहबीच प्रमुख अतिथि ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (BGWS)का अध्यक्ष मेजर टिकेन्द्र दल देवान (JP) ले रिवन काटेर उद्घाटन गरेका हुन् । उक्त अवसरमा पण्डित मधुसूदन सत्यालले वैदिक मन्त्रोच्चारणसहित पूजाआजा गराएका थिए भने संस्थापक अमृत थापाका आमाबुबा सुवाससिंह थापा र यामकुमारी थापाले दीप प्रज्वलन गरे ।
फार्मेसी उद्घाटन समारोहमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, महासचिव डा. विशाल गुरुङ, ग्रेटर रश्मूर नेपाली कम्युनिटी (GRNC)का अध्यक्ष लिला सेलिङ माबो, मगर संघ यूकेका उपाध्यक्ष गुमानसिंह थापा,गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, GP डाक्टर जीत तामाङ, BGWS, GRNC र गोर्खा वेलफेयर प्रोपर्टी (GWPL)का पदाधिकारी एवं सदस्यहरूसहित विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, चिकित्सक र फार्मासिष्टहरू गरी ७० जनाभन्दा बढीको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि BGWSका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपी, बीसीसी यूकेका मेजर कुमार गुरुङ MVO, डा. विजय भण्डारी, डा. देवमान गुरुङ, फार्मासिष्ट सन्तोष ताम्राकार, GRNC प्रोजेक्ट मेनेजर शुसीला थापा, GWPL का डाइरेक्टर ले.रि. मुक्तिजङ गुरुङ लगायतका विशिष्ट व्यक्तिहरू थिए ।
शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरका उपाध्यक्ष शुष्मा गुरुङले सञ्चालन गरेको उक्त समारोहको सुरुवातमा अमृत र सोमका पिता सुवाससिंह थापाले उपस्थित पाहुनालाई स्वागत गर्दै छोराहरूको यो प्रयासमा साथ दिन सबैलाई अनुरोध गरे । कार्यक्रममा सहभागीहरूबाट उठेका विभिन्न प्रश्नहरूको उत्तर सोम थापाले दिएका थिए ।
इजी फार्मेसीले गोर्खा समुदायसहित सम्पूर्ण नेपाली डायस्पोराका लागि गुणस्तरीय, सहज र भरपर्दो औषधि सेवा पुर्याउने लक्ष्य राखेको सञ्चालकहरुले जनाएका छन् ।
‘EG’ को अर्थ र उद्देश्य
फार्मेसीका को-फाउन्डर सोम थापाका अनुसार, ‘ईजी (EG)’ नाम चयन गर्नुअगाडि लामो समयसम्म गहिरो विचार–विमर्श गरिएको थियो ।
‘EG’ को अर्थ उनले यसरी स्पष्ट पारे:
• England & Gurkha
• Every Gurkha
• Every Generation
उक्त नामले सबै वर्ग, समुदाय र पुस्तालाई समेट्ने उद्देश्य बोकेको उनले बताए। फार्मेसीमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै गोर्खा, नेपाली समुदायको हितमा योगदान दिने सोच राखिएको पनि उनले जनाए ।

















