लन्डन । ब्रिटिस नेपाली समुदायका एक प्रेरणादायी व्यक्तित्व, ह्याम्पसायरका डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर (सेवानिवृत्त) मणिकुमार राई एमबीई डीएलको २८ मे २०२५ मा आफ्नै निवास क्याम्बर्ली, बेलायतमा निधन भएको छ । क्यान्सरसँगको लामो संघर्षपछि उनले परिवारको सान्निध्यमा अन्तिम सास लिएका हुन् ।
मेजर राईले गोर्खा सेनामा सक्रिय सेवा, ब्रिटिस डिफेन्स प्रशासन, च्यारिटी कार्य र सामाजिक नेतृत्वका माध्यमबाट उल्लेखनीय योगदान पुर्याएका थिए । उनी पहिलो नेपाली मूलका डिपुटी लोर्ड लेफ्टिनेन्ट थिए, जुन सम्मानजनक पद हिज माजेस्टिज् लर्ड लेफ्टिनेन्टको प्रतिनिधिको रूपमा प्रदान गरिन्छ।
सैन्य सेवा र उपलब्धि
दार्जिलिङको माउन्ट हर्मन स्कुलबाट शिक्षा हासिल गरेपछि, मेजर राई सन् १९७२ मा ब्रिगेड अफ गोर्खाजमा भर्ती भए । प्रारम्भमा ७ गोर्खा राइफल्समा सेवा गरेपछि, सन् १९७४ मा रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट अफिसरको रुपमा कमिसन पाई ६ गोर्खा राइफल्समा नियुक्त भएका थिए ।
उनले पल्टनमा प्लाटुन कमान्डर, एजिटेन्ट, कम्पनी कमान्डर र बटालियन सेकेन्ड-इन-कमान्डजस्ता भूमिका निर्वाह गर्नुका साथै विभिन्न स्टाफ अफिसरका रुपमा रक्षा मन्त्रालय, ७ आर्मर्ड ब्रिगेड तथा स्यान्डहर्स्ट एकेडेमीमा सेवा गरे ।
सन् १९९१ मा इराक युद्धमा खटिएका उनलाई वीरता र सेवाका लागि एमबीई (Member of the Order of the British Empire) पदक प्रदान गरिएको थियो। सन् २००९ मा नियमित सेवा अवकाश लिएपछि पनि मिलिटरी स्टेबिलाइजेसन सपोर्ट ग्रुपमा पूर्ण समय संलग्न रहे र इन्डोनेसिया, सियरालियोन, बुरुन्डी, युगान्डा, केन्या, चिलीलगायत थुप्रै मुलुकमा तालिम टोलीको नेतृत्व गरे । कुल ४२ वर्ष लामो समर्पित सैन्य सेवापश्चात् सन् २०१४ मा पूर्ण रूपमा अवकाश लिए ।
सेवा निवृत्तिपछिको सामाजिक र व्यावसायिक योगदान
सेनाबाट अवकाशपछि पनि उनले विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरे । हाइवेज इङ्ल्यान्डमा व्यवसाय विकास प्रबन्धक, ओरियोल इन्स्पेक्सन इन्डिया (प्रा.) लिमिटेडमा अपरेसन निर्देशक, तथा गोर्खा ब्रिगेड सेक्रेटरीको जिम्मेवारी सम्हाले ।
साथै, उनी थुप्रै च्यारिटेबल संस्थामा क्रियाशील रहे । क्याम्बर्ली सिटिजन एड्भाइस ब्युरोका ट्रस्टी, गोर्खा ब्रिगेड एसोसिएसनका ट्रस्टी, कमनवेल्थ मेमोरियल गेट्सका अध्यक्ष, ब्रिटेन नेपाल सोसाइटीका सदस्य, गोर्खा मेमोरियल परियोजना (अल्डरसट) तथा क्याम्बर्ली नेपाली (गोर्खा) सोसाइटीका सल्लाहकारको रुपमा काम गरे ।
सन् २०२० अक्टोबरमा उनलाई ह्याम्पसायर काउन्टीको डिपुटी लर्ड लेफ्टिनेन्ट पदमा नियुक्त गरिएको थियो । यो पद पाउने पहिलो नेपाली मूलका नागरिक बन्न सफल हुनु उनका लागि मात्र होइन, सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय हो।
मेजर राईको निधनले नेपाली, गोर्खा तथा ब्रिटिस समुदायमा गहिरो शोक छाएको छ । विभिन्न व्यक्तित्वहरूले उनीप्रति विभिन्न माध्यमबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ब्रिगेडियर जोन एन्डरसन ६ गोर्खा लेख्छन्, ‘हामी सबै प्रिय मणिका लागि शोक गरिरहेका छौं । उनको अन्तिम पीडादायी यात्रामा उनी र सुधासँग सम्पर्कमा हुँदा देखाएको साहसी र बलियो मन मान्नै पर्छ । हामी सबैले भाई जस्तै माया गर्ने मान्छे मणि । मैले प्रार्थना गरेको छु र म हाम्रो भाइका लागि रोएको छु। सुधा धेरै बलियो भएर नै मणिको हेरचाह गरिन् । भगवानले उनको अन्तिम यात्रामा रक्षा गर्नेछन् ।’
मेजर डमर शाही लेख्छन्, ‘म अत्यन्त दुःखी छु । उहाँलाई चार दशकभन्दा बढी समयदेखि चिन्दछु। मेरो जेएलसी र एसएलसी दुवैमा प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । विगत ८ वर्ष एचक्युबीजीमा सँगै काम गर्यौं । उहाँलाई सधैँ सम्झिनेछु। उहाँको दिवंगत आत्माले मोक्ष प्राप्त गरोस्।’
मेजर कुलबहादुर थापा लेख्छन्, ‘स्व. मेजर मणि राईको निधनको खबर सुनेर म अत्यन्तै दुःखी छु । सबैले साँच्चै सम्मान गर्ने एक सज्जनको ठूलो क्षति भयो । उहाँको आत्माले चिर शान्ति पाओस् । यस कठिन समयमा हाम्रो विचार र प्रार्थना उहाँको परिवारसँग छ ।’
गज पैगीलामा लेख्छन्, ‘हाम्रो लागि दुर्भाग्यपूर्ण, दुखद खबर सुनेर स्तब्ध भएँ । उहाँ हाम्रो रेजिमेन्टको लागि धेरै मूल्यवान व्यक्ति हुनुहुन्थ्यो। उहाँको दिवंगत आत्माले अनन्त शान्ति पाओस् ।’