अल्डरसट। यस वर्षको गोर्खा कपको उपाधि मेनतर्फ नेपाली ड्रिम टिमले जितेको छ । अल्डरसटको क्विन्स एभिन्यु मैदानमा भएको गोर्खा कपको २३औँ संस्करणको फाइनलमा गुरुजी इलियटलाई स्तब्ध पार्दै ड्रिमले उपाधि जितेको हो ।
उपाधिसँगै नेपाली ड्रिमले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गुरुजी इलियटले १ हजार ८०० पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
मेन टिमको वेस्ट म्यानेजर नेपाली ड्रिमका शक्थिम चेम्जोङ, वेस्ट प्लेयरमा नेपाली ड्रिमकै ईश्वर गुरुङ तथा टप गोल स्कोरर गुरुजी इलियटका रोबेल नाल्बो घोषित भए ।
भेट्रानतर्फ हिमालयन एफसी विजेता र इन्टेक २००० उपविजेता बने । यसमा विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
भेट्रानतर्फ वेस्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा, टप गोल स्कोररमा डा. सन्दिप गुरुङ र वेस्ट प्लेयर खुम गुरुङ घोषित भए ।
महिलातर्फ रन्डर बोल्ट एफसी विजेता र तामाङ समाज यूके उपविजेता बने । विजेता र उपविजेताले क्रमशः ६०० र ४०० पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे । महिलाको वेस्ट प्लेयर फतिमा राई घोषित भइन् ।
विजेता, उपविजेता टिम, खेलाडी र मेनेजरलाई आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, रसमुर बोरो काउन्सिलका मेयर, प्रायोजक, फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा र गोरख घलेले वितरण गरेका थिए ।
‘फुटबल लेजेन्ड अफ गोर्खा कप’को उपाधि लोकप्रसाद चेम्जोङ धनकुटेले प्राप्त गरेका थिए । यो उपाधि तमु धींले पहिलो पटक प्रदान गरेको हो ।
यस वर्षको गोर्खा कपमा मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ दुई गरी ५० टिम सहभागी थिए ।