पोखरा । अन्नपूर्ण म्याराथनको पाँचौँ संस्करण जेठ २० मा हुने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको अवसर पारेर ४२.१९५ किलोमिटर दूरीको म्याराथन हुने आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।
समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । समितिका अध्यक्ष ललित गुरुङका अनुसार म्याराथन अन्नपूर्ण आधार शिविर (४१३० मिटर)बाट सुरु हुनेछ ।
माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित श्री मेश्रम बराह माविको खेल मैदान (१९४० मिटर) पुगेर म्याराथन दौड टुंगिनेछ ।
म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने पुरुष र महिला धावकले समान क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । ७ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रथम हुने अन्नपूर्ण गाउँपालिका, गण्डकी प्रदेश, विदेशी र लगातार तीन संस्करण सहभागी धावकले विशेष पुरस्कार प्राप्त गर्नेछन् । ७५औँ स्थान हासिल गर्ने धावकले डायमण्ड जुब्ली अवार्ड प्राप्त गर्नेछन् । अध्यक्ष गुरुङका अनुसार अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा यो अवार्ड प्रदान गर्न लागिएको हो ।
म्याराथनमा सहभागी हुने धावकले जेठ १५ सम्म नाम दर्ता गरिसक्नु पर्नेछ र जेठ १८ मा अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने छ । म्याराथनमा सहभागी हुन हालसम्म १० विदेशीसहित ६० जनाले नाम दर्ता गराइसकेका छन् । धावकको सुरक्षाका लागि ठाउँ–ठाउँमा चेकपोइन्टका अतिरिक्त यस वर्ष जीपीएस प्रणालीबाट निगरानी गर्ने तयारी रहेको छ ।