लन्डन । स्कटल्यान्डमा आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिजका लागि नेपाली क्रिकेट टोली लन्डन आइपुगेको छ ।
नेपाली क्रिकेट टोली बिहीबार बिहान लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएको हो । खेलाडीलाई विमानस्थलमा माया इभेन्टस्का निर्देशक राजपाण्डेलगायतले स्वागत गरेका थिए ।
टोलीलाई बेलायत आउनुअघि बुधबार एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको थियो । नेपालले लिग- २ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग २–१० जुनसम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज १५–२० जुनसम्म सञ्चालन हुनेछ ।
लिग-२ का लागि नेपाली टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् । यस्तै, टी२०आई सिरिजका लागि किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम पनि टिममा रहेका छन् ।